site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् भन्छन्– अर्को हप्तासम्मै हुनेछ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशमा अझै केही दिन वर्षा हुने अनुमान छ । कतिपय स्थानमा आउँदो सातासम्मै वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका हुन् ।

मौसमविद्ले यो हप्ता र आउँदो सातासम्म हरेक दिनजसो वर्षा हुने अनुमान गरेका छन् । अर्थात्, सुक्खा हुने स्थिति छैन ।

“वर्षा लगभग हरेक दिन हुने देखिन्छ यो हप्ता र आर्को हप्ता पनि,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले सोमबार (जेठ ५) बेलुका सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोमबार दिउँसो पनि धेरै ठाउँमा पानी पर्‍यो । “आज दिनभरि पनि धेरै ठाउँमा वर्षा भयो, तर हल्कादेखि मध्यम खालको मात्र वर्षा भएको देखिन्छ,” उनले लेखेका छन्, “आज राति भने गण्डकी र पूर्वी मधेस/तराई क्षेत्रमा भरी वर्षाको सम्भावना रहेकोले सचेत रहनुहोला त्यो भेगका बासिन्दा ।”

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि अबका तीन–चार दिन वर्षाको सम्भावना औँल्याएका छन् । “प्रिमनसुनी वर्षा अबको तीन–चार दिन सक्रिय रहने,” उनले फेसबुकमा लेखेका छन्, “मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।”

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यिनकै प्रभावले मौसम बदली/वर्षा भइरहेको हो ।

महाशाखाले सोमबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा पनि अबका तीन दिन सातै प्रदेशका कतिपय स्थानमा वर्षाको सम्भावना उल्लेख छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानको जानकारी गराउँदै आएको छ ।

पछिल्ला दिन झरीजस्तो वर्षा समेत भएको छ । केही स्थानमा ‘धेरै भारी’ वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्