
काठमाडौं । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप– एमेच्योर सिरिजको उपाधि स्वदेश गुरुङले जितेका छन् ।
आइतबार काठमाडौंस्थित गोकर्ण फरेस्ट रिजोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२ स्टेबलफोर्ड अंक प्राप्त गर्दै उपाधि जितेका हुन् ।
योसँगै गुरुङले नोभेम्बरमा टर्कीकै अन्ताल्यामा आयोजना हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपको ग्रान्ड फाइनलमा काठमाडौं, नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् ।
स्वदेशभन्दा मात्र एक अंकले पछाडि रहेका आङ डेन्डी शेर्पा र प्रदीप केसीले ४१–४१ अंकसहित प्रतिस्पर्धा पूरा गरे । दुवैका अंक बराबरी भए पनि ब्याक नाइन होलमा धेरै अंक बनाएका आङ डेन्डी दोस्रो र प्रदीप तेस्रो भए । ब्याक नौ होलमा आङ डेन्डीले २० अंक बनाउँदा प्रदीपले १९ अंक मात्र बनाएका थिए ।
वाङ्चेन ढोन्डुपले कुल ४१ ग्रस अंकसहित बेस्ट ग्रस पुरस्कार जिते । यस्तै, मनोहर दास मूल र विपना श्रेष्ठले क्रमशः पुरुष र महिलातर्फ क्लोजेस्ट टु द पिन पुरस्कार जिते ।
टर्किस एयरलाइन्सले आयोजना गरेको उक्त प्रतियोगितामा कुल ८४ खेलाडीले सहभागिता जनाएका थिए । १८ होलमा खेलिएको यो प्रतियोगिता ३/४ ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको थियो ।
पुरस्कार वितरण समारोहमा टर्किस एयरलाइन्स काठमाडौंका महाप्रबन्धक सेरकान बासार, सेल्स म्यानेजर बेनजिर खान, स्टेसन म्यानेजर रेशु सिंह, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नवीन अधिकारी, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनको उपस्थिति थियो ।