site stats
बाह्रखरी :: Baahrakhari
खेल
डी मारिया भन्छन्– बेन्फिकाबाट मेरो यो अन्तिम सिजन हो

काठमाडौं । अर्जेन्टिनाका पूर्वमिडफिल्डर एन्जल डी मारियाले बेन्फिकासँगको सम्झौता नवीकरण नगर्ने बताएका छन् । शनिबार राति भएको खेलमा ब्रागासँग १–१ को बराबरीमा रोकिएपछि डी मारियाले आउँदा सिजन बेन्फिकामा नरहने जनाएका हुन् ।

उक्त बराबरीसँगै लिगा पोर्चुगल जित्ने बेन्फिकाको सम्भावना सकिएको छ । ३४ खेलबाट ८० अंक जोडेको बेन्फिका च्याम्पियन स्पोर्टिङ लिस्वनभन्दा दुई अंकले परेको हो ।

‘‘एक वर्षको लामो संघर्ष यसरी अन्त्य हुनु धेरै निराशाजनक हो । यो क्लबसँग मेरो अन्तिम प्रतियोगिता हो,’’ डी मारियाले समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘आइतबार फाइनल खेल्न बाँकी नै छ । हामी उक्त उपाधि जित्न शतप्रतिशत दिनेछौँ । म बेन्फिकाका समर्थकलाई समर्थन गर्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु ।’’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, डी मारिया र बेन्फिकाबीचको सम्झौता  आउँदो जुन ३० मा सकिनेछ । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका ३७ वर्षीय डी मारियाले बेन्फिकामा कुल पाँच वर्ष बिताएका छन् । उनी सन् २०२३ मा दोस्रोपटक बेन्फिका फर्किएका थिए । उनी त्यसअघि रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन र युभेन्टसमा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्