
काठमाडौं । हुम्लाको तिल्चुङ खोलामा बिहीबार राति (जेठ १) एक्कासि बाढी आयो । खोला वरिपरिको खुकुलो माटोढुंगा बाढीमा बग्यो । त्योसँगै नाम्खा गाउँपालिका–६, तिलगाउँनजिकै जमिन कटान भएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीयका केही घर चर्किएको छ । काठेपुल बगाएको छ । खोलाछेउको एउटा जलविद्युत् आयोजनाको पावरहाउसमा पनि क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले जानकारी दिए ।
उनका अनुसार, जमिन कटान वा दरार भएको तिलगाउँमा ५० घर (ढुंगाले बनाइएका कच्ची) छन् । तीमध्ये १८ घरमा स्थानीयको बसोबास थियो । १८ घरमा २१ पुरुष, नौ महिला र दुई बालबालिका गरेर ३२ जना बस्थे । त्रासका कारण ती घर पनि रित्तो भएका छन् ।
ती घरबाट स्थानीयलाई अन्यत्र सारिएको उनले बताए । “राति एक्कासि बाढी आएपछि स्थानीयमा त्रास छ,” उनले बाह्रखरीसित भने, “तिलगाउँमा बस्तीनजिकै दरार बनेकाले उनीहरूलाई विद्यालयलगायत सुरक्षित स्थानमा सारिएको छ ।”
बाढीमा मानवीय वा पशुचौपायाको क्षति नभएको उनले जानकारी दिए । तर, फेरि त्यस्तै बाढी आए सिंगो बस्ती नै जोखिममा पर्न सक्ने त्रास छ ।
उनका अनुसार, घटना बिहीबार राति ११ बजेतिरको हो । एक्कासि बाढी आएको सुनिएको थियो । पछि ढुंगामाटोको लेदोसहितको बाढी देखियो । तर, त्यति बेला आसपास पानी परेको थिएन ।
“पानी परेको थिएन, पानी नपरेको बेला एक्कासि बाढी आएको थियो,” सीडीओ पाण्डेयले भने, “त्यो अहिले कम भइसक्यो । बाढी छैन ।”
राति आएको बाढी शुक्रबार (जेठ २) बिहान कम भइसकेको थियो । शुक्रबारै स्थिति सामान्यजस्तो भइसकेको थियो । तर, फेरि बाढी आए जोखिम हुन सक्ने उनले बताए ।
तिलगाउँ करिब ३८ सय मिटरको उचाइमा अवस्थित छ । त्यो गाउँनजिकै खोला किनारमा कटान भएको हो ।
राति बाढी आएपछि वस्तुस्थिति बुझ्न शुक्रबार हिल्साबाट प्रहरीको टोली खोलाको माथितिर उकालो लागेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ४७ सय मिटरसम्मको उचाइमा पुगेर फर्किएको उनले जानकारी दिए ।
तर, बाढीको यकिन कारण अझै थाहा भएको छैन । प्रहरी टोलीले त्यस्तो कुनै संकेत नदेखेको उनले बताए । प्रहरी टोली अल्टिच्युडको समस्याका कारण त्यसभन्दा माथि नगई फर्किएको उनको भनाइ छ । “गुगलमा हेर्दा माथि दुइटा तालजस्तो देखिन्छ,” उनले भने ।
गरिँदै अध्ययन
त्यो बाढीको कारण र त्यसपछिको जोखिमका विषयमा सरोकारवाला निकायले अध्ययन गर्दै छन् । विभिन्न अनुमान गरिए पनि यकिन कारण नखुलेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए ।
“त्यो निकै उचाइको क्षेत्र हो । भारी वर्षा भएको, हिमताल फुटेको वा तिब्बततिर ठूलो पानी परेको विभिन्न अनुमान गरिएको छ,” उनले भने, “तर, एक्कासि बाढी आएको कारण खुलेको छैन ।”
०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा ढुंगामाटोको लेदोसहितको एक्कासि ठूलो बाढी आएको थियो । पछि सोलुखुम्बुको थामेमा पनि त्यस्तै बाढी आयो ।
प्रवक्ता केसीले यसपालि हुम्लाको बाढी सोही प्रकृतिको भएको बताए । “पानी परेको थिएन,” उनले भने, “मेलम्ची, मुस्ताङ, थामेमा जस्तै बाढी आएको देखिन्छ ।”
बाढीबारे अध्ययन गर्न प्राधिकरणले आइतबार (जेठ ४) अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)लाई आग्रह गरेको छ । इसिमोडले हिमतालबारे अध्ययन गर्दै आएको छ । “स्याटेलाइट तस्बिरहरूको अध्ययन गर्न हामीले इसिमोडलाई पत्राचार गरेका छौँ,” उनले भने, “इसिमोडले अध्ययन गर्दै छ ।”
प्राधिकरणले खानी तथा भूगर्भ विभागमा पनि पत्राचारको तयारी गरेको छ । “खानी तथा भूगर्भ विभागमा भोलि (सोमबार) पत्राचार गर्दै छौँ,” उनले भने, “त्यो स्थान कत्तिको जोखिमपूर्ण छ, बस्न मिल्ने/नमिल्ने त्यसपछि थाहा हुन्छ ।”
बाढीपछि सिंगो बस्ती जोखिममा परेको उनले बताए ।