site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बत्ती गयो कि हितेन्द्रदेव शाक्यमाथि गालीको वर्षा किन भइरहेछ ?

काठमाडौं । बिहीबार साँझ साढे पाँच बजेपछि उपत्यकालगायतका देशभर बिजुली गयो । अरु बेला ५–१० मिनेटमा आउने एक घण्टा बढीसम्म आएन ।  साँझको समयमा बत्ती गएपछि धेरैले सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति आक्रोश पोखे । 

उनीमाथि मात्रै होइन सरकार र त्यसको नेतृत्वकर्ता केपी शर्मा ओलीमाथि पनि सामाजिक सञ्जालमा आलोचनाको वर्षा नै भयो ।  कुलमान घिसिङ बर्खास्ती प्रकरण जोड्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु शाक्यमाथि खनिए । 
अर्थात् कुलमान हटाएर लोडसेडिङ सुरु गर्न शाक्य ल्याएको आरोप समेत लगाए । 

loadshedding2-1747539113.JPG
 

प्रयोगकर्ताले प्रधानमन्त्री ओली र शाक्यलाई जोडेर गालीको वर्षा गरे । वर्तमान सरकारको सुस्त काम गराइको असर समेतको ‘फ्रस्टेसन’ मानिसले शाक्यमाथि थोपरे ।  आममानिस मात्रै होइन ‘सेलीब्रेटी’ र सांसदहरूले समेत शाक्यलाई ओलीको गालीको वर्षा गरे । सञ्जालमा ओली र शाक्यलाई गालीको वर्षा भयो ।

यसप्रति प्राधिकरणले दुखेसो पोखेको छ । आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले यस्तो प्रष्टीकरण दिएको छ । 

“यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि, लोकप्रिय कलाकार समेत जोडिने विषय चिन्ताजनक छ र विषयवस्तु नबुझी अभिव्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुर्‍याउन सक्दैन,” प्राधिकरणले विज्ञप्तिमार्फत् भनेको छ, “प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नु पर्दछ । हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडि नलागी यो समस्याको दीर्घकालीन समाधानका लागि कार्य गर्दछ, तर नतिजा देखिन समय लाग्छ ।”

प्राधिकरणले योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगर्दा लाइन ट्रिपिङको समस्या देखिएको स्पष्ट पारेको छ । 

योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगरी सस्तो लोकप्रियताका लागि आफू अनुकूल वितरण तथा प्रसारण प्रणाली विकास गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको जनाएको छ ।  

“विगतका वर्षहरूमा समेत प्रि–मनसुन र मनसुनको समयमा हावाहुरी र अधिक वर्षालगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको थियो । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदासमेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा पाँच सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए । समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर न त कमिटीले रिपोर्ट दिनुपर्ने, दिए पनि कार्यान्वयन नहुने प्रवृत्ति विगतमा थियो,” प्राधिकरणले भनेको छ ।

hitendradev-1747539113.JPG
 

बिहीबार बेलुका देशका अधिकांश स्थानमा बिजुली गएपछि शाक्य र प्राधिकरणमा भने अवस्था निकै गरम अवस्था थियो । धनुषाको ढल्केवर सबस्टेसन ठूलो हावाहुरीको मारमा पर्‍यो । हावाहुरीले ढल्केवर–मुजफ्फरपुर लाइनअन्तर्गत नेपाल र भारततर्फ असर गर्‍यो । हावाहरीका कारण लाइन विच्छेद भयो । 

ढल्केवर सवस्टेसन बिजुलीको ‘ब्याक बोन’ मानिन्छ । देशभर अन्धकार भएपछि कार्यकारी निर्देशक शाक्य प्राधिकरणको भार सम्प्रेषण केन्द्र पुगेर अवस्था बुझ्न थाले ।  ढल्केबर ठूलो साइक्लोन जस्तो हावाहुरीले विद्युत् प्रणाली नै अस्तव्यस्त बनाएको थाहा पाएपछि उनको पसिना छुट्यो । 

ढल्केबर सब–स्टेसनबाट विनोद लोहनीले शाक्यलाई घटनाक्रम बेलिबिस्तार लगाइरहेका थिए । बिजुली मुख्य खपत हुने अवस्थामा भारतबाट बिजुली बिच्छेद भएपछि प्राधिकरणले १३२ केभीको लाइनबाट ‘पावर रि–स्टोर’ गर्न खोज्यो । 

उच्च माग हुँदा १३२ केभीको लाइनले ‘पावर रि–स्टोर’ गर्न खोजेपछि बत्ती झ्याप–झ्याप गर्न थाल्यो । 

“रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभी लाइनमार्फत् नेपालतर्फको विद्युत् गृहहरू सञ्चालन गरी आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको थियो,” कार्यकारी निर्देशक शाक्यले भने, “मागभन्दा कम उत्पादनका कारण सिस्टम स्टेबल भएन । लाइन ट्रिपिङ्ग भयो र सञ्चालन गर्न सकिएन ।” 

pradhikaran-1747539114.JPG
 

प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार, प्रशारणलाइन बनेयता पहिलोपटक ढल्केवर–मुजफ्फरपुरको भारततर्फ समेत बिग्रिएपछि धेरैबेर बत्ती गएको हो । 

“यसपटक भारततर्फ समेत लाइनमा समस्या आएपछि धेरै समय लागेको हो,” उनले भने, “पिक टाइममा बिग्रिएसँगै धेरैको ध्यान गएको हो ।” नेपालतर्फ बिग्रिँदा समाधान सजिलो भए पनि भारततर्फ बिग्रिएपछि भने समस्या हुने प्रमुख श्रेष्ठले बताए । 

“हाम्रोतर्फ मात्रै बिग्रिएका भए समस्या चाँडै समाधान हुन्थ्यो,” उनले भने, “ढल्केवर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या आएको थियो ।”

भारततर्फ पनि समस्या आएपछि समस्या समाधान गर्न दुवैतर्फबाट एक कोड पठाएर प्रमाणीकरण गर्नुपर्ने श्रेष्ठले बताए ।  “भारतको आफ्नै प्रोटोकल छ । एक पटक बिच्छेद भएपछि रि–स्टोर गर्न एक कोड पठाएर प्रमाणीकरण गर्नुपर्छ,” उनले भने । 

हावाहुरीले ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनको फिडरमा रुख ढलेर पोल तथा कन्डक्टरमा क्षति पुर्‍याएको थियो । 

प्रणालीमा समस्या आएपश्चात कार्यकारी निर्देशक आफँै विद्युत प्रणाली सञ्चालन विभाग स्युचाटार पुगेका थिए । करिब २ घण्टा लगाएर प्राधिकरणले राति ८ बजेको हाराहारीमा समस्या समाधान गरेको थियो । 

“उपत्यकामा त सुरुमा समस्या समाधान भएको हो,” कार्यकारी निर्देशक शाक्यले भने, “अन्य ठाउँका लागि थप समय लागेको थियो ।”

किन बढी बत्ती जान थालेको छ ?

बिहीबारको समस्या त भवितव्य भयो । तर, पछिल्ला दिनहरूमा आम मानिसहरूले महसुस गर्ने नै गरेर बत्ती जान थालेको छ ।  छिनछिनमा ट्रिप भइरहेपछि आमउपभोक्ताले सामाजिक सञ्जालमा शाक्यविरुद्ध गाली बर्साउछन् । 

पछिल्लो समय आममानिसले महसुस गर्नेगरी बत्ती गइरहेको छ । तपाईं आएपछि कर्मचारीले नटेरेका हुन् वा ‘राइट म्यान राइट प्लेस’ नभएको हुन् ? भन्ने प्रश्न बाह्रखरीले शाक्यसँग गर्‍यो । 

“राइट म्यान राइट प्लेसको कुरामा मैले चलाएको छैन,” उनले भने, “कर्मचारी जहाँ थिए, त्यहाँबाट हटाएको छैन । टप लेभलमा ५/६ जनाबाहेक चलाएको छैन ।”

समस्या ‘राइट म्यान राइट प्लेस’भन्दा पनि पूर्वाधारको रहेको बताए । 

“समस्या नेटवर्कको हो । खपत बढ्दै जाँदा सोही अनुसारको पूर्वाधार भएन । माग बढ्दै जाँदा त्यसलाई धान्ने पूर्वाधारको कमीका कारण समस्या भएको हो,” शाक्यले भने ।  सामाजिक सञ्जाल प्रयोगकर्ताले बत्ती बढी जाँदा सरकारले यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको रिस समेत शाक्यमाथि थोपरिरहेका छन् । 

hitendradeb-1747539113.JPG
 

“लोडसेडिङ सुरु गर्‍यो भनेर धेरै भनेको सुन्छु । तर, पूर्वाधारले धान्ने अवस्था छैन,” उनी भन्छन्, “हामीलाई फागुनदेखि जेठ मध्यसम्म लोड म्यानेज गर्न निकै कठिन हुने गर्छ ।”

मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थामा समेत सबैले गाली गरेको उनले दुखेसो व्यक्त गरे । 

“लोडसेडिङ भयो, अब इन्भर्टर र मैन बत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा कुराहरू आइरहेका छन्,” उनले भने, “अब नेपालमा पुनः लोडसेडिङ हुँदैन ।”

हिउँदमा आन्तरिक उत्पादन निकै न्यून हुने र भारतको भर पर्नुपर्ने अवस्था रहेको र लोड बढी हुँदा त्यसले ट्रिपिङ भइरहेको शाक्य बताउँछन् । 

“प्राविधिक कुरा हो । कम उत्पादन तथा पूर्वाधारले धान्ने प्रणाली छैन,” उनले भने, “प्राविधिक समस्या हो । हामीले बुझाउन नसकेको जस्तो लाग्छ ।” उपत्यका र उपत्यका बाहिरको वितरण प्रणालीमा धेरै परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्