site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत–पाकिस्तान सैन्य तनावबीच यसरी ‘समाचारको अन्त्य’ भयो

प्रियदर्शन


काठमाडौं । भारत–पाकिस्तान तनावको बेला जब इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने खबर आयो, तब एकजना पत्रकारले तुरुन्त भने, “यो राम्रो भयो, अब सबै दर्शकहरू युद्धको कभरेजमा जानेछ ।”

आईपीएलका म्याचहरू हरेक रात करोडौँ मानिसले हेर्थे । अलग–अलग म्याचमा दर्शक संख्या ८–१० करोडदेखि ७०–८० करोड सम्म पुग्थ्यो । जब राति मानिसहरू खाली भए र टीभी च्यानलहरूले के सोचे भने यो खाली समय भारत–पाकिस्तान युद्धका रंगीन र मनोरञ्जक विवरणले भरिन सक्छ ।

यो काम पहिले नै सुरु भइसकेको थियो । मे ७ बुधबारको राति पाकिस्तानका नौ सैन्य ठेगानामा भारतीय सेनाको आक्रमणको खबर आउनेबित्तिकै लगभग सबै टीभी च्यानलहरू रणभूमिमा उत्रिए ।

‘इस्लामाबाद कब्जा’, ‘कराँचीमा आक्रमण’, ‘पाकिस्तानी सेनाका जनरल आसिम मुनिरको गिरफ्तारी’सम्मका खबरहरू प्रसारण भइरहे । कसैले पनि यी खबर कति सत्य हो र कहाँबाट आएका हुन् भनेर हेर्ने प्रयास गरेनन् ।

सामाजिक सञ्जालमा सक्रिय विभिन्न आइटी सेलहरूले यी खबरहरू आफ्नै ढंगले फैलाइरहे । पुराना–नयाँ, असली–नक्कली तस्बिरहरू र बनावटी भिडियोहरूको साथ भारतीय मिडिया ‘पाकिस्तान कब्जा’ गर्दै थियो । पाकिस्तानी मिडिया पनि भारतीय विमानहरू, एयर डिफेन्स प्रणाली र सहरहरू ध्वस्त पार्ने अभियानमा व्यस्त थिए ।

‘मिडियाप्रति जनताको विश्वास धेरै कम बाँकी छ’

यो सञ्चारमाध्यमको पतनको उच्चतम विन्दु हो जुन पहिले पनि देखिन्थ्यो । तर, यसपटक यति हास्यास्पद रूपमा बाहिर आयो । मिडियाले सनसनीलाई नै एकमात्र मानक मानेको छ । यसको विश्वसनीयता लगातार घट्दै गएको छ । तर विडम्बना के छ भने यसको चिन्ता कसैले पनि गरिरहेको छैन ।

चार वर्षअघि रोयटर्स इन्स्टिच्युटको डिजिटल न्युज रिपोर्टअनुसार केबल ३८ प्रतिशत भारतीयले समाचारमा विश्वास गर्छन् जबकि फिनल्यान्डमा यो संख्या ६५ प्रतिशत, केन्यामा ६१ प्रतिशत, ब्राजिलमा ५४ प्रतिशत र थाइल्यान्डमा ६१ प्रतिशत छ ।

हिन्दीको तुलनामा अंग्रेजी अखबारमा यो गिरावट केही कम देखिएको भए पनि टीभी च्यानलहरूमा त्योभन्दा पनि बढी छ । सबैभन्दा धेरै गिरावट डिजिटल माध्यममा देखिएको छ र डिजिटल मिडियाको जन्म नै यसै विश्वसनीयताको गिरावटको बीचमा भएको थियो । समाचारको सबैभन्दा धेरै खपत डिजिटल माध्यमबाट नै हुने हुँदा यो अझ चिन्ताजनक छ ।

भारतको उद्योग तथा वाणिज्य महासंघ (फिक्की)का अनुसार सन् २०२४ मा हरेक हप्ता ७.५ करोड मानिसले टीभी हेर्ने गरेका थिए जसमा मात्र सात प्रतिशत समाचार हेर्ने दर्शक थिए । यद्यपि, यो संख्या चुनावका कारणले टीभी समाचारका दर्शक संख्या १३ प्रतिशतले बढेपछि प्राप्त भएको हो । त्यसमा जम्मा मिलाएर ३७ लाख मानिसले मात्र टीभीमा समाचार हेरेका थिए ।

डिजिटल माध्यममा हेर्ने हो भने युट्युबमा मात्र ४७.६ करोड दर्शक छन् । अर्को महत्त्वपूर्ण कुरा के हो भने युट्युबको वृद्धिदर धेरै तीव्र छ र २०२९ सम्म यसका ८० करोड दर्शक पुग्ने अनुमान छ । सन् २०२४ मा अनलाइन माध्यममा समाचार हेर्ने दर्शक संख्या ४६.३ करोड थियो जसमा धेरैले मोबाइल प्रयोग गरेर समाचार हेरेका थिए ।

दर्शक नागरिक नभएर उपभोक्ता बने

मिडियाका लागि दर्शकहरू अब लोकतन्त्रका नागरिक नभएर समाचारका उपभोक्ता बनेका छन् । यही उपभोक्तालाई हाम्रा टीभी च्यानलहरूले युद्ध र विजयको रूपमा बेचिरहेका छन् । एउटा यस्तो उत्पादन जुन कुनै गुणस्तर नियन्त्रणविना नै स्टुडियोमा तयार गरिन्छ । दुई देशहरूबीचको टकरावलाई गम्भीरतापूर्वक बुझ्न र बुझाउन च्यानलहरूको कुनै सम्बन्ध नै थिएन । वास्तवमा मिडियाको परिवर्तित स्वरूपले समाचारको पतन प्रक्रियालाई अझ बढाएको छ ।

अब समाचारहरू टुक्रा–टुक्रा पारेर साना–साना प्लेटहरूमा सजाएर प्रस्तुत गरिन्छ । ध्यान सामग्रीमा नभएर नाटकीय प्रस्तुतीकरणमा हुन्छ जसले मानिसहरूलाई आकर्षित गर्छ ।

हेर र अगाडि बढ, सोच्न आवश्यक छैन

मोबाइल र इन्स्टाग्रामको व्याकरण फरक छ जहाँ ठूला भिडियोहरू नभएर सानासाना क्लिपहरू चलिरहेका हुन्छन् । अब कुनै समाचारलाई विस्तार र गहिराइ चाहिँदैन, केबल सतह छुनुपर्छ । जे छ चम्किने गरी आउँछ र हराउँछ अनि यसलाई सोच्ने अवसर नदिई अर्को क्लिप स्वतः आइपुग्छ र सोच्ने प्रक्रिया स्थगित हुन्छ । यसरी मिडियाको यो गिरावट केवल समाचारको तथ्य प्रस्तुतिमा मात्र होइन । यो हिन्दी मिडियाको मुख्य विशेषता बनेको छ ।

लगभग एउटै आक्रमक भाषामा सबै टीभी च्यानलहरू चलिरहेका छन् । मात्र ५०० शब्दभित्र उनीहरूले समाचारलाई घटनाको रूपमा प्रस्तुत गर्छन् । यिनीहरूका लागि दहली दिल्ली, काँपता कोलकाता, बौखलाया बेंगलुरु वा पिटता पटनाजस्ता हेडलाइनहरू नै पर्याप्त छन् । च्यानलहरूको पाकिस्तानलाई नरकिस्तान भन्ने र नयाँ भारतलाई युवा जोसले भरिएको, विकसित भारतको रूपमा चित्रण गर्ने हो ।

साम्प्रदायिकताको अन्डरकरेन्ट

भारतमा यो संघर्षको बीचमा जे देखियो त्यो पत्रकारिता होइन, युद्धको गाम्भीर्य नबुझ्ने विज्ञहरूको होडजस्तो जसले पाकिस्तानलाई गाली गरेर सरकारलाई धेरै खुसी दिन सक्छ र आफ्नो देशभक्ति अरूभन्दा माथि साबित गर्न सक्छ । 

यी त्यस्ता चियर लिडर बनेका छन् जसलाई ठीकसँग नाच्नै आउँदैन । तर यो कडा आलोचनाको पछि एउटा गहिरो चिन्ता पनि छ । भारतमा देखिने पाकिस्तान–विरोधको एउटा पक्ष, त्यो साम्प्रदायिक ध्रुवीकरण पनि हो, जुन हाम्रो समाजको बहुसंख्यक भागमा लगभग रोगजस्तो फैलिसकेको छ ।

हरेकबाट देशभक्त हो भन्ने सर्टिफिकेट माग्ने र अलिकति असहमतिलाई नै देशद्रोही ठहराउने यो नयाँ चलन यही प्रवृत्तिको परिणाम हो । यहीँबाट त्यो ज्ञानहीन युद्धोन्माद जन्मिन्छ जसको कारण विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको घोषणा गर्दा सामाजिक सञ्जालमा भयानक ट्रोलिङमा परे । उनको परिवारलाई पनि छाडिएन । अन्ततः उनी आफ्नो एक्स–ह्यान्डल सेटिङ परिवर्तन गर्न बाध्य भए ।

यसैबीचमा यस्ता घटना घटे जसले साम्प्रदायिकता राष्ट्रवादी क्रेजसँग कसरी जोडिएको छ र कति आक्रमक रूपमा हमला गर्न तत्पर छ भन्ने देखायो । जब पहलगाममा नौसेनाका लेफ्टिनेन्ट विनय नरवालकी पत्नी हिमानी नरवालले ‘मलाई कश्मीरी वा मुसलमानहरूसँग घृणा छैन’ भनिन् तब समाजको एक तप्काले उनीमाथि आक्रमण गर्‍यो । उनका लागि उत्पन्न सहानुभूति तुरुन्तै गायब भयो ।

दैनिक पत्रकार सम्मेलनमा आउने भारत सरकार र भारतीय सेनाका अधिकारीको प्रतिक्रिया संयमित रह्यो । दुई महिला सैनिक अधिकारीसहितको यो पहिलो पत्रकार सम्मेलनले धेरै सन्देश दियो ।

तर मध्यप्रदेश सरकारका मन्त्री विजय शाहले कर्नल सोफिया कुरैशीलाई उद्धृत गर्दै जस्तो घृणित व्यवहार गरे, त्यसले हाम्रो मानसिकतामा गलत सोच कति गहिरो गरी छिरिसकेको छ भन्ने देखाउँछ ।

चिन्ताजनक प्रश्न धेरै छन्

यस पूरा प्रकरणमा चिन्ताजनक प्रश्नहरू धेरै छन् । मिडियामा सम्पादक नामक संस्था अप्रासंगिक हुँदै गएको छ । यसको कारण केवल पढेलेखेका, विद्वान् वा पुरानो समयका प्रतिष्ठित सम्पादकहरू बाँकी नभएका मात्र होइन यो पनि हो कि मिडियामा समाचार छनोटमा मानवीय हस्तक्षेप भनिने कुरा नै हराउँदै गएको छ ।

ट्रेन्डिङ खबरहरूको युग

यो ट्रेन्डिङ खबरहरूको समय हो, अर्थात् सामाजिक सञ्जालमा जुन खबरहरू सबैभन्दा धेरै हेरिएका छन् जुन बहसहरूले सबैभन्दा धेरै भीड जुटाएका छन्, तिनैको वरिपरि सम्पूर्ण कभरेज घुम्नुपर्छ ।

पुरानो समयको कुनै सम्पादकले भन्न सक्थे– ‘अपरेशन सिन्दूर’को बीचमा नै छत्तीसगढमा एउटा नक्सलविरोधी अभियान चलिरहेको छ । त्यसको खबर पनि राख्नुपर्छ । तर आज यसको आवश्यकता छैन ।

बीजापुरका घना जंगलहरू वा दुर्गम पहाडहरूको बीच चलिरहेको यस अभियानको खबर सामाजिक सञ्जालमा छैन भने त्यसलाई लिनुको कुनै अर्थ छैन । तर त्यस्ता खबरहरू किन छैनन् ? किनभने यहाँ स्पष्ट रूपमा एउटा बजार छ, एउटा सत्तातन्त्र छ जसले कुन खबरहरूको बजार बनाउनुपर्छ भन्ने थाहा पाएको छ ।

अर्को प्रश्न, यो युगमा पत्रकारितासँग जोडिएका संस्थाहरू कहाँ छन् र कुन संगठनले यो गैरजिम्मेवार पत्रकारिता रोक्ने अपिल गरेको छ ? भन्ने हो । के एडिटर्स गिल्ड अफ इन्डियाको दायित्वमा यो पर्दैन ? नेसनल ब्रोडकास्ट एन्ड डिजिटल एसोसिएसन (एनबीडीए) के गरिरहेको छ ?

घाइते भारतीय मिडिया

प्रेस स्वतन्त्रता सूचकांकमा भारत १५० देशभित्र पर्न सकिरहेका छैन । यदि हामी यस सूचकांकलाई नै छाड्दै छौँ भने पनि हाम्रोसामु मिडियाले प्रस्तुत गरिरहेको नाटक कुनै जिम्मेवार पत्रकारलाई लाजमर्दो पार्नका लागि पर्याप्त छ ।

भनिन्छ, लोकतन्त्रमा मिडिया स्वतन्त्र हुनुपर्छ, उसले आफ्नो नियमन आफैैँ गर्नुपर्छ । तर  सेल्फ रेगुलेसनको दलिलमा अब कति जीवन बाँकी छ ? 

उपभोगमा रूपान्तरित समाज

हामी बिस्तारै यस्तो समाजमा रूपान्तरित हुँदै छौँ जसका लागि सबै कुरा मात्र उपभोगको सामान हो । स्पष्ट छ, बजारको सर्तअनुसार आफ्ना ग्राहकलाई सन्तुष्ट पार्नु नै वर्तमान मिडियाहरूको प्राथमिक जिम्मेवारी बनेको छ । आखिर, यो समाजसेवा होइन, एउटा कारोबार हो र यस्तो कारोबार जसमा अर्बौँ रुपैयाँ लगानी गरिएको छ ।

सन् २०२४ मा टीभीको आम्दानी ६७ हजार ९०० करोड रहेको थियो भने डिजिटल मिडियाको ८० हजार करोडभन्दा बढी । यो विशाल रकमले सयौँ च्यानलहरू र हजारौँ डिजिटल कन्टेन्ट क्रिएटरहरूको विशाल जालबीच यस्तो प्रतिस्पर्धा सिर्जना गर्छ जसमा सबैभन्दा पहिले खबरको मृत्यु हुन्छ ।

भारत र पाकिस्तानबीचको सैन्य तनावमा यदि कसैले सबैभन्दा बढी चोट खाएको छ भने त्यो भारतीय मिडिया नै हो । दुर्भाग्य, यसको असर चाँडो वा ढिलो कारोबारमा पनि पर्ला, तर यो बुझ्ने कोही छैन ।बीबीसी

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्