site stats
बाह्रखरी :: Baahrakhari
खेल
टुसाल रेलिगेसनमा पुग्ने सम्भावना बढ्यो

काठमाडौं । झापा फुटबल क्लबसँग २–० ले पराजित भएसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट रेलिगेसनमा पुग्ने सम्भावना बढेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हार व्यहोरेसँगै १३औँ स्थानको टुसाल ११ अंकसहित तालिकाको रेलिगेसन क्षेत्रमै संघर्षरत छ । 

टुसालले अब लिग चरणको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध खेल्ने तालिका छ । उक्त खेलमा पराजित भए टुसाल यो सिजन नयाँबस्ती युथ क्लबसँगै रेलिगेसनमा पर्ने दोस्रो टोली बन्ने छ । 

आइतबार झापाको जितमा प्रदीप पुढाथोकीले दुई गोल गरे । उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनले ५९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । 

खेलको इन्जुरी समयमा प्रदिपले सुन्दर एकल गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले १८ र्‍याड बक्सनजिकबाट बायाँ साइडबाट प्रहार गरेको सट पोस्टको दायाँ साइडको ‘बटम कर्नर’मा गोल भएको थियो ।

जितसँगै झापा भने तालिकाको चौथो स्थानमा उक्लिएको छ । झापाले १८ अंक जोड्दा पाँच जित, तीन बराबरी र चार हारको सामना गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्