site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवानिकट सात नेता बैठकको निष्कर्ष : सरकार हुनुपर्ने जति बलियो भएन
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेताले नै सरकार हुनुपर्ने जति बलियो नभएको निष्कर्ष निकालेका छन् । आइतबार (जेठ ४) पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवास कुलेश्वरमा बसेको देउवा टिमको दोस्रो तहका प्रभावशाली नेताको बैठकबाट सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको हो ।

आउँदो महाधिवेशनमा सभापतिका आकांक्षी नेताले बैठकलाई तीव्रता दिएका छन् । सभापतिका आकांक्षीको घर बदल्दै बैठक बस्ने गरेको छ । त्यहीक्रममा आइतबार श्रेष्ठको निवासमा बैठक बसेको हो ।

दिउँसो २ देखि साढे ४ बजेसम्म चलेको बैठकमा धेरै विषयमा छलफल गरिएको नेता श्रेष्ठले जानकारी दिए । “पहिलो त सरकारलाई बलिाये बनाउन आवश्यक रहेको विषयमा छलफल भयो । दुईतिहाइ बहुमतको सरकार भएर पनि यो सरकार हुनुपर्ने जति बलियो र प्रभावकारी देखिएन,” उनले बाह्रखरीसित भने, “यसको प्रभावकारिता अझ बढाउनुपर्ने आवश्यक रहेकाले त्यसमा कांग्रेसका तर्फबाट भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको छ ।”

यसबाहेक व्यवस्थाका विषयमा भ्रम छर्ने कार्य भइरहेको र त्यसबारे बृहत् अन्तक्रिया गर्ने निर्णय गरिएको उनले बताए । “पहिलो चरणमा वाग्मती प्रदेशस्तरीय ‘लोकतान्त्रिक गणतन्त्र र आजको आवश्यकता’ विषयमा अन्तरक्रिया आयोजना गर्ने तयारी छ,” उनले भने, “त्यसपछि यसलाई सबै प्रदेशमा छलफल गरेर मानिसमा रहेको भ्रम चिर्ने प्रयत्न हामी गर्नेछौँ ।” 

पार्टीको महाधिवेशन समयमा सम्पन्न गराउन पनि भूमिका खेल्ने निर्णय भएको उनले बताए । त्यसनिम्ति सबैभन्दा पहिले हुनुपर्ने सदस्यताको काम सुस्त भएको भन्दै उनले गति बढाउने विषयमा जोड दिइने जानकारी गराए ।

“महामन्त्रीहरूको नेतृत्वमा सदस्यता अभियान चलिरहेको छ । तर, त्यो सुस्त भयो । चैत मसान्त भनेर १५ दिन थपिएकोमा पनि केही जिल्लाले बाहेक सदस्यताको विवरण बुझाएको पाइएन,” नेता श्रेष्ठले भने, “त्यसलाई प्रभावकारी बनाएर महाधिवेशनका समयमा सदस्यताका लागि मुद्दा लड्ने अवस्था अन्त्य गर्नुपर्ने समझदारी बनेको छ ।”

समय तोकेर सबै जिल्लाको नवीकरण सकाएर नयाँ सदस्यका निम्ति पनि आह्वान गर्ने गरी काम अघि बढाउनुपर्ने उनले बताए । 

तीन नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीचको बैठक अरू चारजना श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत थपिएर सात पुगेको थियो । अब उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू, देउवानिकट पूर्वसहमहामन्त्रीसहितलाई डाकेर बैठक विस्तारित गर्ने योजना पनि उनीहरूले बताएका छन् ।

“अबको बैठक प्रकाशमान सिंहजीले आयोजना गर्नुहुनेछ । उहाँले आवश्यक नेताहरूलाई डाकेर सबैलाई समेट्ने गरी बैठक आयोजना गर्नुहुनेछ,” उनले भने, “सभापति देउवासँगै रहेका सबैलाई समेट्ने र देउवाको पनि सहयोग लिएर अघि बढ्ने भन्ने भएको छ ।” 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्