site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजस्थानविरुद्ध रोमाञ्चक जितसँगै पञ्जाबको प्लेअफ सम्भावना बलियो
तस्बिर : एनडीटीभी

काठमाडौं । राजस्थान रोयल्सविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

आइतबार जयपुरस्थित सवाई मानसिंह रंगशालामा पञ्जाबले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर २०९ रनमात्र बनाउन सक्यो । 

राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रन बनाए । यसैगरी यशस्वी जैसवालले २५ बलमा ९ चौका र एक छक्काको मद्दतले ५० रन थपे । वैभव सूर्यवंशीले ४०, कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन बनाए ।

पञ्जाबका लागि हरप्रित ब्रारले तीन विकेट लिए । यस्तै, मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको योगफल तयार पारेको थियो ।

पञ्जाबका लागि नेहाल बधेराले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ७० रन बनाए । यसैगरी शशांक सिंहले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९ रन थपे । कप्तान श्रेयस ऐरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।

राजस्थानका लागि तुषारदेश पाण्डेले दुई विकेट लिए । यस्तै, क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए । 

जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकका साथ नवौँ स्थानमा छ । राजस्थान प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्