site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा शनिवार खुकुरी प्रहार गरिँदा ४ जना घाइते भएका छन् । दलको सदस्यताका विषयमा विवाद हुँदा एउटा समूहले प्रतिस्पर्धीमाथि खुकुरीद्वारा सांघातिक आक्रमण गरेको बताइएको छ ।

लमजुङ कांग्रेसका नेताहरू पनि घटनास्थलमै उपस्थित रहेछन् । अर्थात्, खुकुरी हान्नेहरूले आफ्नो समूहको नेताको निर्देशन पाए वा पाएनन् आड चाहिँ पाएकै देखियो । खुकुरी हान्नेहरू पक्राउ नपरेको कारण पनि यही हो कि?  

केही दिन पहिले नेकपा (एमाले)को अधिवेशनहरूमा पनि यस्तै गुटगत आधारमा घाउचोट नै लाग्नेगरी हानाहानका घटनाहरू भएका थिए । राजनीतिक दलहरूका नेतृत्वको निर्माण बाहुबलका आधारमा गर्ने प्रवृत्ति देखिनु चिन्ताको विषय हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) देशका ठूला राजनीतिक दल हुन् । अहिले देशमा यी दुवै दलको संयुक्त सरकार छ । कारबाहीको डर नभएर हो कि यिनका कार्यकर्ता बढी उद्दण्ड देखिएका छन् ।  

सत्तारूढ दल भएकाले देशमा शान्ति सुव्यवस्था कायम राख्न कांग्रेस र एमालेका नेता कार्यकर्ता सामान्य नागरिकका तुलनामा बढी जिम्मेवार हुनुपर्थ्यो । विडम्बना, उल्टै उनीहरू नै सत्ताका धाकमा अराजकता मच्चाउन बढी उद्यत देखिए ।

राजनीतिक दलका कार्यकर्ताको मात्र होइन जनसाधारणको पनि विचार र संस्कारको निर्माणमा नेताहरूको प्रभाव हुन्छ । यसैले होला पौराणिक कालमा समेत ‘यथा राजा तथा प्रजा’ अर्थात् शासकजस्तो हुन्छ नागरिक उस्तै हुन्छन् भनिएको ।  

झट्ट हेर्दा लमजुङका केही उच्छृङ्खल तरुणहरूले गरेको उपद्रोमात्र देखिए पनि यस घटनाले राजनीतिक नेताहरूले हुर्काइरहेको संस्कारको झलक देखाएको छ । यसमा खुकुरीवाला तरुणहरू जत्तिकै दोषी तिनलाई संरक्षण गर्ने नेताहरू पनि हुन् । 

लोकतन्त्रमा आस्था राख्ने हो भने आचरण पनि लोकतान्त्रिक हुनुपर्छ । प्रतिस्पर्धीलाई खुकुरी हानेर तह लगाउन तम्सिने कार्यकर्ता वा नेतालाई कुनै पनि दृष्टिबाट लोकतन्त्रवादी मान्न सकिँदैन । फासिस्टले पो हिंसामा विश्वास गर्छ ।

यस्तो घटनाले तरुण दलको छवि त धमिलो बनाउँछ नै मातृ संस्था नेपाली कांग्रेसको सैध्दान्तिक आधारमै पनि चोट लाग्छ । नेता कार्यकर्ताले फासिस्ट प्रवृत्ति अँगाल्ने हो भने नेपाली कांग्रेस सिद्धान्ततः समाप्त हुनेछ । 

लमजुङ्का खुकुरीवालालाई राजनीतिक संरक्षणका आडमा जोगाउने दुष्कार्य गरिए नेपाली कांग्रेसमात्र होइन देशकै अहित हुनेछ । यस्तै फासिस्ट संस्कारलाई प्रश्रय दिइनुलाई आगामी महाधिवेशनमा बाहुबलका भरमा संगठन कब्जा गर्ने सङ्केतका रूपमा हेरिनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्