site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’मा उत्साहजनक सहभागिता

काठमाडौं । सिप्रदियन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ । 

देशका विभिन्न भूभागका बालिकाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले यो शिविर सञ्चालनमा ल्याइएको हो ।  

हालै पोखरामा सञ्चालन गरिएको तीनदिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाले उत्साहका साथ सहभागिता जनाएको कम्पनीले जनाएको छ । 

पहिलो चरणमा धरानबाट सुरू गरिएको प्रशिक्षण शिविर, जनकपुर हुँदै पोखरामा सकिएको छ ।  

“पोखराका सहभागीमा देखिएको उत्साहले हामीहरूमा यो प्रशिक्षण शिविरको लागि थप ऊर्जा मिलेको छ,” सहभागीहरूसँग अपार सम्भावना भएको सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले बताए ।  तर आवश्यक पूर्वाधार र प्रशिक्षणको अभाव रहेको उनले बताए ।

काठमाडौं किकर्स सिप्रदीसँग ‘फुटबल फर फ्युचर’मा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको काठमाडौं किकर्सका प्राविधिक निर्देशक ली म्यान्सनले बताए । दुवै संस्थाको साझा लक्ष्य भनेको सम्भावना भएका खेलाडीको सशक्तीकरण रहेको उनले बताए ।

पोखरापछि ‘फुटबल फर फ्युचर’ देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब सुर्खेत र धनगढीमा हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्