
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को वाग्मती प्रदेश कमिटी गठन गरिएको छ । शनिबार (जेठ ३) काठमाडौंमा कृष्ण खतिवडाको अध्यक्षतामा फिनेको वाग्मती प्रदेश कमिटी निर्विरोध चयन गरिएको हो ।
कार्यसमितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकितराज पाण्डे, कोषाध्यक्षमा धनवीर श्रेष्ठ, सहकोषाध्यक्षमा देवीश्री पन्त तथा कार्यसमिति सदस्यमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाईं र सुदीप थापा चयन भए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशमा रहेका नेपाली उद्यमीले देशसँग जोडिन गरेको यो प्रयासको प्रशंसा गरे । उनले युवा उद्यमीको यो प्रयासलाई सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फिनेका अध्यक्ष स्वतन्त्रप्रताप शाहले विश्वका अरू मुलुकसँगै नेपालका सातै प्रदेशमा यसको कार्यसमिति विस्तार गर्ने उद्देश्यानुसार वाग्मती प्रदेश कमिटी गठन गरिएको बताए ।
फिनेका नेपाल संयोजक रामशरण थापाले यो विश्वभर छरिएर रहेका नेपाली उद्यमीलाई जोड्ने सञ्जाल बनेको बताए ।
कार्यक्रममा अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङ, जापान, चीनलगायत देशबाट आएका फिनेका प्रतिनिधिको सहभागिता थियो ।