site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्र सुस्त हुँदाको असर : शुभश्री अग्नि सिमेन्ट नोक्सानमा, कारोबार झन्डै अर्ब घट्यो

काठमाडौं । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ । अर्थतन्त्र सुस्त भएपछि बजारमा वस्तुको माग कम हुँदा उद्योगहरू आधाभन्दा कम क्षमतामा चलेका छन् । नेपाल उद्योग परिसंघले केही साताअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार उद्योगको औद्योगिक क्षमता उपयोग बढेर ६२ प्रतिशत पुगेको छ ।

बजार सुस्त हुँदाको मार ठूला लगानीमा खुलेका सिमेन्ट उद्योगमा परेको छ । पछिल्ला वर्ष सिमेन्ट उत्पादकहरू नाफा कमाउनभन्दा पनि भएको उद्योग बचाउन लागिपरेका छन् । 

यस्तै, पोखरेल परिवारले सञ्चालन गरिरहेको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड झन्डै आठ करोड रुपैयाँ नोक्सानीमा छ । गत वर्ष नोक्सान घटेर सात करोड ९० लाख रुपैयाँमा झरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

अघिल्लो वर्ष उद्योग १६ अर्ब ४० करोड रुपैयाँ नोक्सानमा थियो । ब्याज खर्च घटेपछि खुद नोक्सान पनि कम हुन गएको हो ।

गत वर्ष उद्योगको सिमेन्ट व्यापार ३७ प्रतिशत घटेर एक अर्ब ५९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्षको उद्योगको व्यापार दुई अर्ब ५५ करोड १० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा उद्योगको सिमेन्ट कारोबार ९५ करोड ७० लाख रुपैयाँ घटेको छ । २०२२ मा उद्योगको व्यापार दुई अर्ब १६ करोड ५० लाख रुपैयाँ थियो । 

गत वर्ष उद्योगको सिमेन्ट व्यापार ८८ करोड २० लाख रुपैयाँ थियो । यस्तै, कच्चा वस्तु क्लिङकर व्यापार ६५ करोड ८० लाख रुपैयाँ थियो । सिमेन्ट उत्पादन घटेपछि बजारमा क्लिङकरको माग कमी हुन गएको छ । गत वर्ष शुभश्री अग्नि सिमेन्टले ५७ हजार ३०७ टन क्लिङकर मात्र बिक्री गरेको छ । 

अघिल्लो वर्ष ८१ हजार ८१८ टन थियो । गिरावटको बाबजुद सन् २०२४ मा पीपीसी सिमेन्टको औसत मूल्य बढेर प्रतिबोरा ३९८ रुपैयाँ पुगेको छ । 

यस्तै, सन् २०२३ मा बोराको ३१७ रुपैयाँ थियो । यस्तै, ओपिसी सिमेन्टको औसत मूल्य बढेर गत आर्थिक वर्ष ५०८ रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष ४९१ रुपैयाँ थियो । बिक्री लागत कम भएका कारण प्रोफिट बिफोर इन्ट्रेस्ट, लिज डिप्रिसेसन एन्ड ट्याक्स (पीबीआईएलडीटी) मार्जिन बढेर ३१.७१ प्रतिशत पुगेको छ । यस्तै, आर्थिक वर्ष २०२३ मा २२.४२ प्रतिशत थियो । 

उद्योग सञ्चालन स्वाभाविक रूपमा कार्यशील पुँजी गहन छ । शुभश्री अग्निले स्वनिर्मित र स्थानीय रूपमा खरिद गरिएको कच्चा पदार्थ प्रयोग गरेर क्लिंकर र सिमेन्टको निर्माणमा संलग्न छ । उद्योगले प्रमुख कच्चा पदार्थको रूपमा कोइला, चुनढुंगा, बक्साइट, रातो माटो र फलामको अयस्क प्रयोग गर्दछ । 

क्लिंकर उत्पादनको क्रममा कच्चा पदार्थको खपतको लगभग ३० प्रतिशत हिस्सा कोइलाको हुन्छ । कोइला भारतबाट आयात हुने गरेको छ । ८० प्रतिशत कोइलाको भुक्तानी डलरमा हुने गरेको छ । डलरमा आउने उतारचढावले जोखिम बढी हुने गरेको छ । उद्योगले विदेशी मुद्रामा उतारचढावसँग सम्बन्धित जोखिमलाई कम गर्न कुनै हेजिङ संयन्त्र अपनाएको छैन । 

उद्योगको स्वामित्वमा दुईवटा चुनढुंगा खानी छन् । खानी तथा भूगर्भ विभागबाट उत्खनन् इजाजतपत्र प्राप्त गरेको छ । प्युठानमा रहेको खानीमा ८६ लाख टन र दाङमा रहेको खानीमा ४३ लाख टन चुनढुंगा रहेको अनुमान गरिएको छ । दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्न ४६ वर्षसम्म ग्राइन्डिङ युनिट चलाउन खानी पर्याप्त छ । आफ्नै चुनढुंगा खानीहरू भएकोले शुभश्री अग्नीलाई मूल्य निर्धारण, ढुवानी लागत, समयमै आपूर्ति लगायतका सन्दर्भमा अन्य प्रतिस्पर्धीहरूभन्दा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दछ ।

उद्योगले खानी क्षेत्रलाई सिमेन्ट उत्पादन स्थलसँग जोड्ने ३७ किलोमिटर लामो रोपवे निर्माण गर्ने योजना बनाइरहेको छ । यो विकासले सञ्चालन दक्षतामा सुधार ल्याउनुका साथै उत्पादन बढाउन र भारतमा निर्यात विस्तार गर्न सकिनेछ ।

कारखाना मध्यपश्चिमी भागमा अवस्थित छ । घोराही, तुलसीपुर, कोहलपुर, नेपालगञ्ज, बुटवल र भैरहवा उद्योगका सिमेन्टका प्रमुख स्थानीय बजार हुन् । 

बरहनी सीमा (प्लान्टबाट ६० किलोमिटर टाढा) र सुनौली सीमा (प्लान्टबाट ९० किलोमिटर टाढा)बाट कोइला आयात गर्छ । कम्पनीले प्लान्ट स्थलबाट ७० किलोमिटरको क्षेत्रफलभित्र रहेका दुई खानीबाट चुनढुंगा निकालिरहेको छ । उद्योगको उत्पादन सुविधाहरू नजिकै धेरै ठूला र साना ग्राइन्डिङ प्लान्टहरू छन्, जुन शुभश्री अग्नीका लागि राम्रो संकेत हो ।

पोखरेल  परिवारले अग्नि सिमेन्ट इन्डष्ट्रिज पनि सञ्चालन गरिरहेको छ । शुभश्री अग्नि सन् २०१३ मा स्थापना भएको हो । उद्योगले सन् २०१७ बाट क्लिङक उत्पादन थालेको हो । दैनिक १२ सय युनिट सिमेन्ट उत्पादन गर्ने ग्रान्डिङ युनिट सन् २०१९ मा सञ्चालनमा आएको हो । 

साधारण सेयर (आईपीओ) निष्कासन गर्न शुभश्री अग्नी पब्लिक लिमिटेडमा परिणत भएको छ । 

उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल रहेका छन् भने प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् । पोखरेल परिवारको सिमेन्टका साथै हस्पिटल र शिक्षा क्षेत्रमा लगानी रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्