site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लाको नाम्खामा पहिरोले पाँच काठेपुल बगायो

काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ स्थित तिल्बुङ खोलामा रहेका पाँचवटा काठेपुल पहिरोले बगाएको छ । लेदोसहितको पहिरोले बाटोसहित पुलहरू बगाएको हो । 

के कारणले पहिरो आएको हो भन्ने विषयमा वडा नं ६ का वडाअध्यक्ष पाल्जोर लामासँग बुझ्दा उनले पनि केही थाहा नभएको बताएको प्रहरीले जनाएको छ । सो गाउँभन्दा उतरतर्फ अन्दाजी १२–१५ किलोमिटर माथि ताल हुन सक्ने र सोही ताल फुटेर पहिरो आएको हुन सक्ने आकलन गरिएको छ । 

उक्त स्थानमा आइतबार स्थानीय कासिन्दा बन्दोबस्तीसहित गएको र अवलोकनपश्चात् थप जानकारी प्राप्त हुने वडा नं ६ का वडाअध्यक्षले जानकारी दिएका छन् । पहिरोका कारण नाम्खा ६ का सोनाम साङ्मु लामाको घरमा माथिबाट ढुंगा खसेर छानामा प्वाल परेको छ । त्यस्तै, बुटी लामाको घर चर्किएर उच्च जोखिममा परेको छ । 

सोही स्थानमा रहेको धर्मशालाको छतमा ढुंगा खस्दा छाना भत्किएको छ भने ५.१५ किलोवाटको जलविद्युत भवन र मेसिनलगायत भौतिक क्षति भएको प्रहरीले जनाएको छ । करिब ४० रोपनी बारीमा सिँचाइ गरिँदै आएको कुलो र खानेपानीको संरचनासमेत पहिरोले बगाएको छ ।

उक्त स्थान समुद्री सतहदेखि तीन हजार ९४८.३४ मिटर उचाइमा रहेको छ । उक्त स्थान बीओपी हिल्सादेखि अन्दाजी २२ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्