हेटौंडा उपमहानगरपालिकामा पर्ने गैरीगाउँमा वैशाख २० गते जमिन भासिएर दबिएको गाडी नभेटिएपछि त्यसको अध्ययन गर्न भूगर्भविद्को टोली बोलाइएको थियो । भूगर्भविद्हरूले गाडी त पहिल्याउन सकेनन् तर त्यसको कारण भने पहिल्याएका छन् । भूगर्भविद्का अनुसार जमिनमा गरिएको बोरिङका कारण पानीसँगै जमिनमुनिको मसिनो माटो पनि निस्किएकाले जमिन भासिएको हो ।
सुरुमा रोकेर राखिएको माछा बोक्ने जिप जमिन भारिएर जमिनभित्र पुगेको थियो । पछि भौगर्भिक खोजतलासका क्रममा भासिएको ठाउँभन्दा केही पर गाडी हुनसक्ने सङ्केत भेटियो । अर्थात्, गाडी भासिएको ठाउँमा जमिनमुनि पराकिलो खाडल परेको परेको छ । बोरिङ गरेर पानी निकाल्दा तल्लो सतहबाट मसिनो माटो र बालुवाका कण धेरै निस्केकाले त्यहाँ दुर्घटना भएको थियो ।
हेटौंडाकै जस्तो गाडी नै नभासिए पनि केही वर्षदेखि निरन्तर बोरिङ गरिए पनि जलपरिपूरणको कुनै व्यवस्था नभएका ठाउँमा जमिनमा खाडल पर्ने गरेका उदाहरण चुरे र भित्री मधेसका मेचीदेखि महाकालीसम्म नै पाइन्छ । तर, यसलाई सरकार वा स्थानीयहरूले गम्भीररूपमा लिएको र सन्तुलन कायम राख्ने प्रयत्न गरेको भने अहिलेसम्म देखिएको छैन ।
कामना गरौँ, देशको अरू भागमा जमिनै भासिने अवस्था नआओस् । तर, जमिनमुनिको पानीलगायत प्राकृतिक स्रोतको असन्तुलित दोहनले हामीले नचाहे पनि विनाश त गर्छ । अर्कातिर जमिनमुनिको पानीको अत्यधिक दोहन काठमाडौंलगायतका पहाडी उपत्यका र नयाँ सहरी बस्तीहरूमा बेरोकटोक भइरहेको छ । प्राकृतिक सन्तुलन बिग्रेपछि प्रकृतिले यसरी नै सङ्कटबाट सन्देश दिन्छ ।
सहरीकरणसमेतका कारणले एकातिर वर्षाको पानी जमिनले सोस्ने वा जमिनभित्र जाने ठाउँ छैन भने अर्कातिर जमिनभित्र भएको पानी पनि अनिन्त्रित मात्रामा बाहिर तानिएको छ । जमिनमुनि नै भए पनि पानी भएको ठाउँ खाली त रहन सक्तैन । अनि, प्रकृतिले जमिनले भ्वाङ पार्ने वा भासिने गरेर चेतावनी दिन्छ ।
यसैले हेटौंडा गैरीगाउँको घटनाबाट जमिनमुनिको पानी प्रयोग गर्ने सबै क्षेत्रका जनता र स्थानीय तहहरूले पाठ सिक्नु बुद्धिमानी हुनेछ । यस प्रकारका घटना रोक्न जोखिमपूर्ण क्षेत्रको विस्तृत भौगर्भिक अध्ययन विशेषगरी बोरिङ गरी पानी झिक्ने कामको अनुगमन गरेर संरक्षण योजना बनाउनु जरुरी देखिन्छ । जनसाधारणले पनि प्राकृतिक स्रोतको अत्यधिक र विवेकहीन दोहनविरुद्ध आवाज उठाउनु आवश्यक हुन्छ । नत्र, हेटौँडा गैरीगाउँको घटना जताततै दोहोरिएर भयावह अवस्था उत्पन्न हुनसक्छ ।