
निभेका शिखा
(गजलसंग्रह : डा. घनश्याम परिश्रमी)
नेपाली गजल साहित्यमा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को आफ्नै परिचय र उचाइ छ । उनको गजलकारिताको चर्चा गरिँदा सिद्धान्त र बहरको चर्चा स्वतः हुन्छ ।
उनै डा. परिश्रमीको पछिल्लो गजलकृति हो, ‘निभेका शिखा’ । उनका यसअघि सात गजलसंग्रह र गजलसम्बद्ध पुस्तकहरू प्रकाशित छन् ।
कृतिभित्र आत्मकथनमा डा. परिश्रमीले लेखेका छन्, “प्रस्तुत निभेका शिखा मेरो गजल यात्राको पछिल्लो चरणमा लेखिएका गजलहरूको संकलनका रूपमा आएको कृति हो । यसमा झण्डै तीन दर्जन शास्त्रीय बहरहरूको प्रयोग गरी लेखिएका गजल छन् । ... ।”
यो गजलसंग्रहमा १३३ गजल रहेका छन् । तीमध्ये एउटाको शेरले भन्छ–
बुझेरै बन्यौ वा नजानी बन्यौ
तिमी चाखलाग्दो कहानी बन्यौ
म प्रेमी हुँ पागल दिवाना भएँ
तिमी साथ आई दिवानी बन्यौ (पृष्ठ : २९)
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १७६ पृष्ठको यो गजलसंग्रहको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
यादों के गलियारे में
(संस्मरणसंग्रह : डा. गौरीशंकर लाल दास)
वरिष्ठ छातीरोग विशेषज्ञ तथा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासको हिन्दी भाषामा प्रकाशित संस्मरणहरूको संग्रह हो, ‘यादों के गलियारे में’ । अग्रज व्यक्तित्व डा. लाल दासको यो पुस्तक केही समयअघि सार्वजनिक गरिएको हो । उनको यसअघि ‘चयनिका’ शीर्षकमा एउटा पुस्तक प्रकाशित छ ।
पुस्तकभित्र लेखकीयमा डा. लाल दासले लेखेका छन्, “...पछि गएर धारावाहिक रूपमा मेरो जीवनको वृत्तान्तका पाना पनि जोडिँदै गयो । एक प्रकारले मेरो जीवन वृत्तान्त नै त्यसभित्र समायो । ...मैले सोचेँ किन न तिनलाई संकलन गरेर एउटा पुस्तक प्रकाशित गरूँ । ... ।”
यो कृतिभित्र ‘चार सौ कि बारात’देखि ‘दिव्य शताब्दी पुरुष : घोषणा और अभिनन्दन’सम्म गरेर ४२ संस्मरण, यात्रा संस्मरण समाहित छन् ।
लेखकको परिवारद्वारा प्रकाशित १५२ पृष्ठको यो पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।
०००
नेपाली प्रतिनिधि नियात्रा
(नियात्रासंग्रह : प्र.सं. प्रतीक ढकाल)
नियात्रासाहित्यको दस्ताबेजीकरणका लागि नियात्रा समाज नेपालले ‘नेपाली प्रतिनिधि नियात्रा’ प्रकाशन गरेको छ, प्रधानसम्पादकमा प्रतीक ढकाल छन् । सम्पादकहरूमा जय छाङ्छा, मोहन मैनाली र भवानी खतिवडा रहेका छन् ।
प्रधानसम्पादक प्रतीक ढकालले कृतिमा लेखेका छन्, “सोझो र सपाट सत्यमै बोल्ने हो भने यो संसारलाई जोडेको नियात्राकारहरूले नै हो । कोलम्बसले युरोपलाई अमेरिकासँग जोडे । भास्को डी गामाले युरोपलाई भारतीय उपमहाद्वीपसँग जोडे । मार्कोपोलोले युरोपलाई ‘यही संसारमा चीनजस्तो एउटा संस्कृतिसम्पन्न देश पनि छ है’ भनेर देखाइदिए । यस्तै क्रममा इब्न बतुता, फाइयान, वेन साङ, सम्राट अशोक, कावागुची आदिजस्ता सयौँ सम्मानपूर्वक लिइने नामहरूको सूची नै बनाउन सकिन्छ जसले आफ्नो यात्रावृत्तान्तमार्फत धर्तीको कुनै न कुनै भागलाई आलोकित पार्ने काम गरेर गए । यसअर्थमा हेर्दा नियात्राकारहरू पनि कुनै आविष्कारक वैज्ञानिकभन्दा कम देखिँदैनन् ।’
भूमिकामा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले लेखेका छन्, “... अहिले नियात्रा लेखन स्थानगत र विषयगत विविधताका साथ द्रुत गतिमा अगि बढिरहेको पाइए पनि स्तरीयतामा भने ह्रास आइरहेको देखिएकाले यसतर्फ सबै नियात्राकार सजग हुनु आवश्यक देखिन्छ ।”
पुस्तकमा केही पुराना यात्राका दस्ताबेज संगृहीत गरिएको छ भने नियात्रा साहित्यमा लागेका ७४ जनाको नियात्रा समावेश छन् ।
नियात्रा समाज नेपालद्वारा प्रकाशित ८४० पृष्ठको यो पुस्तकको मूल्य २०००/– रुपैयाँ राखिएको छ ।
०००
जीवनका रङ्गहरू
(व्यंग्यसंग्रह : अवधेश पोखरेल ‘जनकपुरिया’)
मैथिली भाषासाहित्यमा निरन्तर कलम चलाउँदै आएका साहित्यकार हुन्, अवधेश पोखरेल ‘जनकपुरिया’ । जनकपुरका अवधेशले केही मैथिली नाटकहरू लेखेका छन् भने नेपाली भाषामा कथा, कविता, गीत र उपन्यास पनि लेखेका छन् । उनको पछिल्लो व्यंग्य कृति हो, ‘जीवनका रङ्गहरू’ ।
लेखकीयमा पोखरेलले लेखेका छन्, “... खासगरी आजको राजनीति ‘अवसरवादी’ संस्कृतिको पर्याय बनिसकेको वस्तुगत यथार्थललाई नेपाली हुनाको साझा भोगाइको अनुभवबाट तपाईं पनि वञ्चित हुनुहुन्न भन्ने मेरो विश्वास छ । मैले भोगेका कतिपय यिनै कुराहरू यहाँ छताछुल्ल छन्, स्वीकार गर्नुहोला ।”
कृतिमा साहित्यकार प्रह्लाद पोखरेलले लेखेका छन्, “कहीँ निबन्धात्मक कथाको मिठास, कहीँ कथात्मक निबन्धका बान्की, कहीँ मनोरञ्जक सायरीका सेर, कहीँ कवितात्मक लबजका वाणी र कहीँ नाटकीय संवादात्मक शैलीको सम्मिश्रणले जीवनका रङ्गहरूभित्र पाइने पाठकीय आनन्द पठनयात्राको प्रारम्भदेखि गन्तव्य पुगिसकेपछि पनि कायम रहन्छ ।”
यो कृतिभित्र साहित्यकार जनकपुरियाका १७ व्यंग्यरचना प्रस्तुत छन् ।
डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा प्रकाशित १४० पृष्ठको यो व्यंग्यकृतिको मूल्य २५१/– रुपैयाँ राखिएको छ ।
०००
साहित्यमा उत्तर–चेतको खोजी
(पठन–सार : छत्रमान सुब्बा)
भारतीय भूमिमा रहेर पनि नेपाली भाषासाहित्यका माध्यमबाट निरन्तर नेपालको सेवा गर्दै आएका सर्जक थुप्रै छन् । यसभित्रै पर्छन्, तेजपुर असमका साहित्यकार छत्रमान सुब्बा ।
केही समयअघि प्रकाशित उनको पुस्तक हो, ‘साहित्यमा उत्तर–चेतको खोजी’ । यो कृतिमा प्रा. डा. गोविन्दराज भट्टराईका दश कृतिको पठन सार प्रस्तुत छ । सुब्बाले भारतको साहित्य अकादमी अनुवाद पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।
लेखकीयमा सुब्बाले लेखेका छन्, “अब आफू भने असमिया माध्यममा पढेको मान्छे नेपाली भाषाको हिज्जे नै राम्रोसँग आउँदैन । सिक्ने र लेख्ने रहर भने अदम्य छ । अनि जानेर भन्दा नजानिकनै अलिअलि लेख्ने प्रयास गरियो । ... ।”
प्रा. डा. गोविन्दराज जोशीले भूमिकामा लेखेका छन्, “छत्रमान बगालबाट अराएर एक्लिएको गाईवस्तुजस्तै हुन् । तेजपुर परिवेशमा वर र पर गर्ने साना काँटीका लिम्बू पात्र उनी यता भए कुनै पश्चिमी बजारतिर पालाम् गाउँदै हुन्थे...।”
सेर्गेम प्रकाशन गृह, दमकद्वारा प्रकाशित १३२ पृष्ठको यो पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।
०००
साहित्यमा मृत्यु–चिन्तन
(चिन्तन : बद्रीप्रसाद ढकाल)
साहित्यकार बद्रीप्रसाद ढकाल विभिन्न विधामा कलम चलाउँछन् । उनका कथा प्रकाशित छन् । समालोचना पनि प्रकाशित छन् । बुढ्यौली साहित्यमा पनि पुस्तक लेख्दै आएका ढकालले केही समयअघि मृत्यु चिन्तनमाथि खोज गर्दै ‘साहित्यमा मृत्यु–चिन्तन’ सार्वजनिक गरेका छन् ।
पुस्तकको लेखकीयमा ढकालले लेखेका छन्, “वर्तमान वैश्विकीकरणको समयमा वैदेशिक रोजगारी, अध्ययन र भ्रमणले कति सन्तान आफ्ना जन्मदाताको मृत्युमा प्रत्यक्ष उपस्थित हुन नसक्दा वेदना र ग्लानिको सामना गर्नुपर्छ । भोगेको जस्तै गरी घटनाको चित्र आफ्ना मस्तिष्कमा खिच्न सक्ता ‘भर्चुअल संसार’ले दिने शान्ति देला कि ! हुनत भिडियो खिचेर सेयर गर्ने प्रचलन बढ्दै छ, अहिले मृत्युको पनि ।”
डा. दुर्गाबहादुर घर्तीले भूमिकामा लेखेका छन्, “... प्रस्तुत पुस्तक चिन्तनगत दृष्टिले नेपाली साहित्यमा नौलो पाइलो हो । यसबाट पाठकले जीवन र मृत्युलाई नजिकबाट नियाल्न सहज भएको छ । ... ।”
पुस्तकभित्र पहिलो खण्डमा मृत्यु–चिन्तन (१७ आलेख) र दोस्रो खण्डमा नेपाली साहित्यमा मृत्यु–चिन्तन (९ आलेख) छन् ।
अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित २३२ पृष्ठको यो पुस्तकको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००
आमा नभएको घर
(कथासंग्रह : बखतबहादुर थापा)
नेपाली कथा लेखनमा निरन्तर सक्रिय सर्जक हुन्, बखतबहादुर थापा । उनै थापाले चौथो कथाकृति बजारमा ल्याएका छन्, ‘आमा नभएको घर’ ।
कृतिमा लेखकले लेखेका छन्, “... यस संग्रहमा प्रकृति, सामाजिक र विज्ञानका कथाहरू समेटिएका छन् । पाठकको प्रतिक्रिया नै मेरा सिर्जनाको खुराक हो । जसले मलाई सजक तुल्याउनुका साथै हौस्याउने गर्दछ । ... ।”
यो कथासंग्रहभित्र कथाकार थापाका २४ कथा पढ्न सकिन्छ ।
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २१८ पृष्ठको यो कृतिको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।