site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

अहिले अपनाइएको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक समावेशी व्यवस्था सिद्धान्ततः सही हुँदाहुँदै पनि जनताको आर्थिक र सामाजिक अवस्थामा अपेक्षित सुधार नभएको गुनासो व्यापकरूपमा सुनिन्छ । हुनत, देशको स्रोत, साधन र क्षमताअनुरूप विगत दुई दशकमा विकास नभएको त होइन तर हरेक क्षेत्रमा जनसाधारणलाई ठग्ने वा झुक्याउने काम भएकाले जनता रुष्ट र क्षुब्ध बनेका छन् । 

नेपालको पुँजी बजार अर्थात् सेयर बजारमा पनि जनतालाई मूर्ख बनाउने कार्य निरन्तर चलिरहेको छ । केही सही कंपनीहरूले आफ्नो कंपनीका लागि जनताबाट पुँजी उठाएर जनतालाई पनि कंपनीको नाफाको साझेदार बनाएका छन्  तर त्यस्तो उदाहरण धेरै कममात्र छ ।

अधिकांश पुँजीपतिहरूले कमजोर आर्थिक अवस्था भएका कंपनीहरूलाई पब्लिक कंपनी बनाएर सेयर निष्कासनमार्फत थोरै पुँजी भएका लाखौं सर्वसाधारण जनताबाट लगानी उठाउने र कंपनीलाई उँधो न उँभो बनाउन चलखेल गरेका प्रशस्त उदाहरण भेटिन्छन् । यो कार्य (सफेदपोस) ठगीको उच्चतम नमुना हो । यसको निराकरण हुनुपर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसै सन्दर्भमा हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पब्लिक सेयर निष्कासनका लागि अन्तिम अवस्थामा पुगेका कंपनीहरूको फाइल जफत गरेर लगेको छ । विभिन्न संचार माध्यमहरूमा यसरी सेयर निष्कासन गर्ने कंपनीहरूले बिचौलियामार्फत ठूलो रकम नियामक निकायलाई अनधिकृतरूपले बुझाउनुपर्ने चर्चा चलेपछि संघीय संसद्मा पनि यस विषयमा प्रसङ्ग उठेको थियो । फलस्वरूप, अहिले प्राथमिक सेयर निष्कासनको अन्तिम चरणमा रहेका कंपनीहरूको पुँजी बढाउने काम थप पछाडि धकेलिएको छ । 

अख्तियारले फाइल लग्यो अब गलत कंपनीले जनतालाई ठग्न पाउँदैनन् भनेर अहिलेको अवस्थामा ठोकुवा गर्न भने सकिँदैन । जुन जुन कंपनीहरू सार्वजनिक सेयर निष्कासनको अन्तिम अवस्थामा पुगेका थिए तिनले नजराना बुझाउनुपर्ने निकायहरूमध्ये अब अख्तियार पनि थपिनसक्छ भनेर शंका गर्ने ठाउँ बनेको छ । अर्थात्, नेपाल धितोपत्र बोर्डलाई केही रकम (हल्ला भएअनुसार ५ देखि २५ प्रतिशत) बुझाउनुपर्नेमा अब थप ५ देखि १० प्रतिशत खर्च बढ्नसक्ने संभावनाले आईपीओ पर्खेर बसेका कंपनीहरू त्रसित भएकाछन् । 

वास्तवमा धितोपत्र बोर्डले विगत लामो समयदेखि धेरै कंपनीलाई सेयर निष्कासनको अनुमति दिएको छैन । गत २२ महिनामा करिब ८९ कंपनीहरूले ५६ अर्ब बढी रकम उठाउने अनुमति मागेका छन् तर कसैले पनि अहिलेसम्म अनुमति पाएका छैनन् । यी कंपनीमध्ये ४३ वटा जलविद्युत उत्पादन कंपनी परेका छन् ।

यी कंपनीहरूले समयमै आईपीओमा जान नपाउँदा लगानी प्रतिमेगावाट २५ करोडमाथि पुग्ने गुनासो गरिरहेका छन् । धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा आठ कंपनीलाई २ अर्ब २३ करोड बराबरको आईपीओ र ११ कंपनीलाई ११ अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिइएको छ । 

बजारमा पुँजीको परिचालन गर्ने सेयर बजारको अभिवृद्धी रोकिनु हुँदैन तर त्यसो भन्दैमा जनताको पुँजी सङ्कलन गरेरर आफ्नो लगानी उठाउने र बजारबाट पलायन हुने अवस्था पनि रोकिनुपर्छ । विगतमा धितोपत्र बोर्डको अध्यक्ष बनाउन जुन प्रकारको चलखेल देखिएको थियो र जति खर्च गरेर अध्यक्ष हुनुपर्ने भन्ने हल्ला चलेको थियो त्यसको आधारमा बोर्डले बिचौलिया परिचालन गरेन होला भन्नेमा विश्वास गर्ने आधार कमजोर छन् । तर, अख्तियारले समेत अब रोकिएको फाइलको अध्ययन गर्ने क्रममा ढिलाइ गरेर थप बिचौलिया परिचालन गर्दैन भनेर ढुक्क हुने अवस्था पनि छैन । 

यसरी सरकारी निकायबीचको अनैतिक प्रतिस्पर्धामा बजारमा पुँजी परिचालन हुने अवस्थामा ढिलाइ नहोस् र कमजोर आर्थिक अवस्थाका जनतामारा कंपनीले घुस दिएकै भरमा आफ्नो कंपनी राम्रो देखाएर बजारबाट पैसा उठाउने र जनता ठग्ने काममा पनि नियन्त्रण होस् । यसका लागि बोर्ड र अख्तियारमात्र होइन सरकार र सर्वसाधारण लगानीकर्ता पनि सचेत हुनु आवश्यक हुन्छ ।

प्राथमिक वा हकप्रद सेयर निष्कासनमा जनता ठगिने अवस्थाको अन्त्य नभएमा नेपालको पुँजी बजार चाँडैनै निष्क्रिय अवस्थामा पुग्नसक्छ र त्यसले बिग्रिएको अर्थतन्त्रलाई झन् कमजोर बनाउँछ । सबै सरोकारवालाको समयमै यथोचित ध्यान पुगोस् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्