
कुरा १९३७ को हो । मलाई महिना सम्झना छैन । आफ्नी पत्नी सुशीलासँग म आफ्नो घर विराटनगरतिर जाँदै थिएँ । हाम्रो भर्खरै बिहे भएको थियो । कटिहारबाट जोगबनी जाने रेलमा यात्रा गर्दै थियौँ । ठूलो पानी परिरहेको थियो । एउटा स्टेशनबाट गाडी खुलेपछि ढोकाबाहिर एकजना किशोर ढोकाको डन्डी समातेर झुन्डिरहेको देखेँ ।
गाडी सी सी... गर्दै तीव्र गतिमा दौडिरहेको छ । त्यो युवक पानीले चुर्लुम्म भिजेको छ । हाम्रो डब्बा सेकेन्डक्लासको थियो । त्यो बेला सेकेन्डक्लास डब्बा राजसी मानिन्थ्यो । डब्बामा हामी दम्पती मात्र थियौँ ।
हामी दुवै अन्यौलमा थियौँ, त्यस अपरिचित युवकलाई भित्र आउन दिने या नदिने भनेर । त्यस्तो मान्छे चोर–लुटेरा पनि हुनसक्छ । हुनसक्छ, हामीलाई एक्लै देखेर हत्या गर्ने र लुट्ने उद्देश्यले भित्र आउन खोजेको होस् ।
तर, सुशीलाले मन थाम्न सकिनन् । जेसुकै भए पनि त्यस बेलाको दयनीय अवस्था देखेर ढोका खोलिदिइन् । भित्र पसेपछि हामी दम्पतीलाई मात्र डब्बामा देखेर त्यो युवक बडो द्विविधामा पर्यो । सीटमा बस्ने आँट गरेन । डराएजस्तो भएर उभिइरह्यो ।
अनि, हामीले उसलाई बस्न धेरैपल्ट अह्राएपछि बल्ल एउटा सीटका छेउमा खुम्चिएर बस्यो । केही बेरपछि उसले आफ्नो परिचय दियो अनि हामीसँग पनि परिचय माग्यो ।
परस्पर परिचय आदानप्रदान भएपछि ऊ एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आयो । त्यसपछि ऊ हाम्रै घरमा बस्न थाल्यो । त्यो व्यक्ति थियो, हिन्दीको प्रख्यात साहित्यकार–फणीश्वरनाथ रेणु ।
रेणुले मलाई सान्दाजु भन्थे । नेपालीमा सान्दाजुको अर्थ हो– जेठोभन्दा मुनिको तर आफूभन्दा माथिको दाजु । हामी पाँच भाइमध्ये मातृकाप्रसाद कोइराला जेठा हुन् । हामीहरू उनलाई ठुल्दाजु भन्दछौँ ।
उनीभन्दा सानो म । अरू मभन्दा मुनिका भाइहरूले सान्दाजु भन्दछन् ।
विराटनगरमा मेरा पिताजी (स्व. कृष्णप्रसाद कोइराला – जसलाई नेपालका गान्धी भन्ने गर्थे) ले एउटा स्कूल खोल्नुभएको थियो, त्यो स्कूल नेपालका तराईक्षेत्रको पहिलो थियो । त्यही स्कूलमा रेणुले पनि प्रवेश गरेर प्रारम्भिक शिक्षा लिएका थिए ।
मेरो भाइ तारिणीसँग रेणुको राम्रो मित्रता थियो । दुवैमा साहित्यप्रति रुचि थियो । साहित्यका रसिक प्रेमी यी दुवैजना कहिलेकाहीँ लेख्ने पनि गर्थे । तारिणी र रेणु समवयसी थिए ।
त्यही बेलादेखि कुनै बेलाको त्यो अपरिचित किशोर रेणु कोइराला–परिवारको अभिन्न सदस्य बने र जीवनपर्यन्त बनिरहे ।
रेणु हिन्दीको मात्र होइन बंगाली साहित्यका पनि ज्ञाता र रसग्राही व्यक्ति थिए । त्यस बेला उनी विशेष गरी सतीनाथ भादुडीको उग्र क्रान्तिकारी राजनीतिक रचनाहरूप्रति धेरै आसक्त थिए । उनैले मलाई सतीनाथजीसँग भेट गराए अनि उनका रचना सुनाएर, पढाएर रसास्वादन गराएका थिए ।
मेरा केही रचरनाहरू हिन्दी मासिक ‘हंस’ र नेपाली मासिक ‘शारदा’मा छापिइसकेका थिए । रेणु मेरा साहित्यिक सहायक बने । पछि उनले मेरा केही रचनाहरू हिन्दीमा अनुवाद गरे ।
पटनाबाट रामवृक्ष बेनीपुरीको सम्पादनमा प्रकाशित हुने मासिक ‘हिमालय’मा मेरो एउटा कथाको हिन्दी अनुवाद रेणुले नै प्रकाशित गराएका थिए ।
यी सबै कुरा भन्नुभन्दा पनि मुख्य कुरा रेणु मेरा साना भाइ थिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरैजस्तो थियो । उनका विचार मेरा आफ्नै जस्ता लाग्थे । साँच्चै उनी मेरै थिए ।
उनी स्वतन्त्रताका प्रचण्ड योद्धा थिए । नेपालको प्रजातान्त्रिक संघर्षमा हामीसँग काँध मिलाएर लडे । राणाशासन समाप्त पार्न २००७ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्यो । त्यस क्रान्तिमा रेणु पनि सहभागी भएर मुक्तिसेनाको बर्दीमा मसँगै बन्दूक बोकेर लडाइँमा होमिएका थिए ।
क्रान्तिका बेला उनले नेपाली कांग्रेसको प्रचारप्रसार तथा विराटनगरबाट स्थापित प्रतिबन्धित आकाशवाणीको स्थापनामा महत्त्वपूर्ण भूमिका पूरा गरेका थिए ।
१९३५ मा रेणुसँग परिचय भएदेखि उनी मेरा घनिष्ट भए । बीचबीचमा हाम्रो सम्पर्क कम हुने गर्थ्यो । १९७६ मा ८ वर्षको निरन्तर आत्मनिर्वासनपछि स्वदेश फर्किने तयारी गर्दै थिएँ, त्यहीक्रममा म पटना पुगेको थिएँ । ३१ दिसम्बरका दिन काठमान्डू फर्किने कार्यक्रम थियो ।
जानुभन्दाअघि रेणुसँग भेट्ने इच्छा थियो । पटनामा केही मित्रहरूसँग सोद्धा थाहा भयो, रेणु बिरामी भएर त्यहाँको स्थानीय अस्पतालमा भर्ती भएका छन् । रातको दस बजिसकेको थियो । म हतारिँदै उनलाई भेट्न अस्पताल पुगेँ ।
यस्तो कुबेलामा बिरामीलाई भेट गर्नु उचित हुँदैन भन्ने जान्दाजान्दै पनि गएँ । कारण, अर्को दिन बिहानै काठमान्डू प्रस्थान गर्नुपर्ने थियो । रेणुसँग भेट गर्ने अर्को अवसर नै मिल्ने थिएन ।
अस्पतालमा शय्यालीन भएका रेणुलाई भेटेँ । उनी कंकालजस्तै भइसकेका थिए । डाक्टरले भनेअनुसार उनी कुनै घातक रोगबाट ग्रस्त थिए । तर, मैले धेरैचोटि ढिपी गर्दा पनि उनी मानेनन् । उठेर मेरा खुट्टा छोए । कुनै हराएको महत्त्वपूर्ण चीज भेटेजस्तै गद्गद् भए ।
उनले भने, ‘म बिरामी छु । त्यसकारण यतिखेर नेपालको प्रजातान्त्रिक संघर्षका निम्ति सहयोग दिन सक्तिनँ । तैपनि म छिट्टै स्वस्थ भएर सारनाथ जान्छु र सुशीला भाउजूसँगै बसेर उनको सेवा गर्नेछु ।’
अनि, उनले त्यहाँ बसेका युवाहरूलाई मेरो परिचय गराउँदै भने, ‘तपाईंहरूले कोइरालाजीबाट धेरै प्रेरणाहरू लिनुपर्नेछ । हामीहरू आफ्नो राजनीतिक अधिकारका लागि संघर्षमा मर्न डराउँछौँ । यता कोइरालाजी भने संघर्षको नेतृत्व सञ्चालन गरेर मृत्युको आह्वान स्वीकार गर्दै काठमान्डू फर्किंदै हुनुहुन्छ ।’
रेणुले मेरा सबै रचनाहरूको हिन्दीमा अनुवाद गर्ने आफ्नो इच्छा व्यक्त गरे । अर्को कुरा, उनले मेरो एउटा उपन्यास ‘नरेन्द्र दाइ’ हिन्दीमा अनुवाद गरिसकेर छाप्ने व्यवस्थासमेत मिलाएका थिए । यस्तैमा आपत्स्थिति लागु भएथ्यो ।
मईको प्रारम्भतिर राजकाज कानूनअन्तर्गत आरोपित केही अभियोगहरूका लागि मलाई सर्वोच्च अदालतमा पेस गर्न लैजाने क्रममा अदालतमै ‘दिनमान’को एकप्रति कतैबाट प्राप्त भयो । आवरणमा रेणुको तस्वीर छापिएको थियो ।
पत्रिका पल्टाएर हेर्नासाथ म स्तब्ध भएँ । रेणुको मृत्युका बारेमा समाचार र केही लेखहरू थिए । उनको मृत्युको कुराले मलाई एउटा ठूलो चीज हराएको अनुभव भयो ।
अरू बेला भए म मौन बसेर त्यस दुःखलाई झेल्ने शक्ति बटुल्ने थिएँ, तर अदालतमा मैले आफ्नो बचाउमा सफाइ दिनुपर्ने र वकिलहरूको बहस सुन्नुपर्ने थियो । म जबर्जस्ती संयमित भएँ । कसैले पनि अनुमान गर्न सक्छ, यसनिम्ति मैले कति ठूलो आत्मसंघर्ष गर्नुपर्यो होला !
मेरा लागि रेणु मरेका छैनन् । उनी मेरो हृदयमा जीवित छन् । हामी कोइराला परिवारका हृदयमा जीवित छन् । हामी प्रजातन्त्रका सम्पूर्ण नेपाली अथवा भारतीय सिपाहीका मनमा जीवित छन् ।
रेणु मरे तर रेणु जीवित छन्– आफ्नो क्रान्तिकारीताका निम्ति, आफ्नो क्रान्तिकारी विचारका निम्ति, तानाशाहीका विरुद्ध संघर्षका निम्ति– आफ्नो बाँच्ने इच्छाका लागि, आफ्नो नवसृष्टिको अभिलाषाका निम्ति...।
(साहित्यकार फणीश्वरनाथ रेणुको डा. तुलसी भट्टराईद्वारा अनूदित ‘नेपाली क्रान्ति कथा’मा बीपी कोइरालाले लेखेको भूमिका ।)