
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लब रेलिगेसन जोनबाट उक्लेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ ले पराजित गर्दै सरस्वती रेलिगेसन जोनबाट उक्लेको हो ।
सरस्वतीलाई जित दिलाउन टोलीका विशेष लामा, फतेमान घले र विज्ञान खड्काले समान एक गोल गरे । ब्रिगेडका अभिषेक रानामगरले टोलीका लागि एक गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको ४५औँ मिनेटमा सरस्वतीलाई विशेषले पहिला अग्रता दिलाए । ७६औँ मिनेटमा फतेमान घलेले टोलीको अग्रता दोबर बनाए ।
८३औँ मिनेटमा ब्रिगेडका अभिषेकले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा ल्याए ।
इन्जुरी समयमा सरस्वतीका विज्ञानले अग्रतालाई ३–१ को अवस्थामा पुर्याउँदै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै रेलिगेसन जोनमा रहेको सरस्वती १२औँ स्थानमा उक्लेको छ । सरस्वतीले तेस्रो जित निकाल्दै कुल १० खेलमा तिन जित र सात हारबाट नौ अंक बनाएको छ । सरस्वती रेलिगेसन जोनबाट उक्ले पनि खतरा भने टरेको छैन ।
पराजित ब्रिगेड तीन जित, तीन बराबरी र चार हारसहित १२ अंकका साथ आठौँ स्थानमा यथावत् छ ।