
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक वाइल्डले आफ्नो नेतृत्वमा राष्ट्रिय टोलीमा परिवर्तन आउने बताएका छन् । वाइल्ड नेपाली महिला फुटबल टोलीका निम्ति पहिलो प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन् ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न परिचयात्मक कार्यक्रममा प्रशिक्षक वाइल्डले राष्ट्रिय टोलीमा आफूले सकारात्मक परिवर्तन ल्याउने बताएका हुन् ।
“नेपाली फुटबलमा दोस्रोपटक नेतृत्व गर्न पाउँदा मैले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु । मेरो प्रशिक्षणमा तपाईंहरूले परिवर्तन देख्न पाउनुहुन्छ । मेरो कार्यकालमा टोलीमा परिवर्तन आएन भने म यहाँ रहँदिनँ,” प्रशिक्षक वाइल्डले भने, “खेलाडी छनोट, खेल्ने शैली, खेलाडी तथा टिमका अधिकारीलगायत पक्षको स्तर राम्रो बनाउन प्रयास गर्नेछु ।”
उनले फुटबलमा उपाधि हासिल गर्न टोली उत्कृष्ट हुनुपर्ने बताउँदै खेलाडीलाई सधैंँ सकारात्मक प्रेरणा र हौसला दिने बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्यालयमा नवनियुक्त प्रशिक्षक वाइल्डसँग सञ्चारकर्मीको परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । एन्फाले हिजो (बिहीबार) उनलाई एक वर्षका निम्ति राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
कार्यक्रममा राष्ट्रिय महिला टिमका टेक्निकल डाइरेक्टर हरि खड्काले २१ आवेदनबाट सर्टलिस्ट गरी वाइल्डलाई नियुक्त गरिएको बताए । उनका अनुसार २१ जनाबाट १० र १० बाट पाँच प्रशिक्षकमा सर्टलिस्ट गरी छनोट गरिएको हो ।
प्रशिक्षक वाइल्डसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको दुई दशकको अनुभव छ । उनले बेल्जियम, अस्ट्रिया, हंगेरी, चीन, अल्जेरियालगायत अन्य देशका राष्ट्रिय टोली तथा क्लबमा जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि उनी नेपाली फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल)का निम्ति नेपाल आएका थिए । उनी लिगमा काठमाडौं रेजर्सका प्रशिक्षक थिए ।
अब प्रशिक्षक वाइल्डले आसन्न एएफसी एसियन महिला कप छनोटबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।
छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।