
काठमाडौं । बंगलादेशमा यो वर्ष चुनाव नहुने भएको छ । सरकार गठन भएको नौ महिनासम्म चुनाव नभएपछि दलहरूले सरकारको आलोचना गरिरहेका छन् ।
बंगलादेशको मुख्य दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लगायत धेरै राजनीतिक दलहरूले लगातार चुनावी रोडम्यापको माग गरिरहेका थिए । बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो ।
यसैबीच, अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले चुनावको सम्भावित मिति घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी राष्ट्रिय चुनाव २०२६ को अप्रिलको दोस्रो सातासम्म हुने बताएका हुन् । उनले यही घोषणाका आधारमा निर्वाचन आयोगले निर्वाचनको लागि विस्तृत रोडम्याप तयार गर्ने बताए ।
मोहम्मद युनुसले पनि धेरैपटक यस वर्षको डिसेम्बर र अर्को वर्षको जुनको बीचमा चुनाव हुनुपर्ने बताएका थिए ।
यस विषयमा उनले हालै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । छलफलपछि युनुसले आगामी चुनावको सम्भावित मिति तय गरेका हुन् । बीबीसी