
काठमाडौं । न्युजिल्यान्डले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा रब वाल्टरलाई नियुक्त गरेको छ । शुक्रबार न्युजिल्यान्डले सबै क्रिकेट प्रतियोगिताका निम्ति वाल्टरलाई प्रशिक्षक नियुक्त गरेको हो ।
दक्षिण अफ्रिकाका ४८ वाल्टर अफ्रिकाको एक दिवसीय क्रिकेट र ट्वान्टी–२० टोलीको प्रशिक्षक थिए । न्युजिल्यान्डले उनलाई टोलीमा प्रशिक्षक ज्ञारी स्टिड्सको स्थानमा प्रशिक्षक नियुक्त गरेको हो ।
प्रशिक्षक ज्ञारीले गत बुधबार टेस्ट क्रिकेटको जिम्मेवारीबाट यही महिनाको अन्तिममा हट्ने घोषणा गरेका थिए ।
“न्युजिल्यान्ड विश्व क्रिकेटमा एक सफल टिमको रूपमा उदाएको छ । मेरा लागि यस प्रकारको क्रिकेटमा मौका पाउनु गर्वको विषय हो । मेरो र टोलीको साझेदारी कायम नै रहनेछ,” वाल्टरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
न्युजिल्यान्डको क्रिकेटका प्रमुख कार्यकारी स्कट वेनिन्कले पनि वाल्टर टोलीको नेतृत्व गर्न योग्य रहेको जनाएका छन् ।
“वाल्टर वर्ल्ड क्लास प्रशिक्षक हुन् । रोबको सफल कार्यकाल र नेतृत्वमा दक्षिण अफ्रिकाले हासिल गरेका सफलताहरूले उनलाई न्युजिल्यान्डको मुख्य प्रशिक्षक बन्नयोग्य बनाउँछ,” प्रमुख कार्यकारी वेनिन्कले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
न्युजिल्यान्डले आगामी जुलाईदेखि जिम्बाब्वे टुर खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु गर्नेछ । टोलीले जिम्बाब्वे टुरमा साउथ अफ्रिका र जिम्बाब्वेसँग ट्वान्टी–२० श्रृंखला र दुई टेस्ट खेल्नेछ ।