
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । बुधबार अपराह्न सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
भारत–पाकिस्तान तनाव बढेका बेला सुरक्षा परिषद्को बैठक बोलाइएको हो । बैठकमा दुई देशबीचको तनावको असर नेपालमा पर्नसक्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।
नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था छ । संविधानको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्न सुरक्षा परिषद् रहने व्यवस्था छ ।
प्रधानमन्त्री नेतृत्वको परिषद्लाई मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई सल्लाह तथा सुझाव दिने जिम्मेवारी छ ।