site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै बोर्ड
फाइल तस्बिर ।

काठमाडौं । समृद्धि इनर्जी लिमिटेडले २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती अर्धजलाशय जलविद्युत् (पीआरओआर) आयोजना बनाउने भएको छ । आयोजना बनाउन लगानी बोर्डले ४४ अर्ब ५१ करोड रुपैयाँ स्वीकृत गर्नेछ ।

बिहीबार (जेठ २२) बस्ने बोर्डको ६३औँ बैठकबाट समृद्धि इनर्जीको प्रस्ताव स्वीकृत गरिने प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । आयोजना बनाउन ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) गरी लगानी संरचना बनाइएको छ । प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने योजना विकासकर्ता कम्पनीको छ ।

आयोजनामा ३० अर्ब रुपैयाँ बैंकको ऋण लगानी बाँकी स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ । आयोजना बनाउन लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा अरू बैंकसँगको सहवित्तीयकरणमा ऋण लगानी गरिनेछ ।

Argakhachi Cement Island Ad

हालसम्म आयोजना प्रारम्भिक चरणमा छ । आयोजना ०८८ असार ३१ गते (सन् २०३१ जुलाई १५) सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट समृद्धिले बिजुली उत्पादन गर्न इजाजपत्र (लाइसेन्स) पाइसकेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा युनिटको ४.८० रुपैयाँ निर्धारण गरेको छ । सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि १०.५५ रुपैयाँ तोकिएको छ ।

विकासकर्ता कम्पनीले गरेको अध्ययनानुसार, अर्धजलाशय आयोजनाबाट वार्षिक एक अर्ब २२ करोड ९६ लाख युनिट बिजुली उत्पादन हुनेछ । बर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खायाममा ३९ करोड ५० लाख सात हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

आयोजनाको विस्तृत इन्जिनियरिङका साथै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार पारिसकेको छ । आयोजनाको विद्युत्गृहमा ५५.७ मेगावाटका चार भर्टिकल एक्सिस पेल्र्टन टर्वाइन जडान हुने अध्ययनले देखाएको छ ।

आयोजनाको संरचना बझाङको साइपाल गाउँपालिकामा पर्छ । आयोजनाले पाँच लाख ५२ हजार ४२० घनमिटर पानी संकलन गरी दैनिक साढे चार घण्टा विद्युत् उत्पादन हुने समृद्धिले जनाएको छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले आठपटकसम्म मूल्यवृद्धि गर्न पाउनेछ ।

विद्युत्गृहबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारणलाइनमार्फत १२६ किलोमिटर दूरीमा रहेको प्राधिकरणको कैलालीको लम्की सबस्टेसनमा जोडिनेछ ।

विद्युतगृह र सेती–इंगल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिँदै छ । आयोजनाको कुल हेड ७५० मिटर छ ।

आयोजनाको बाँध साइपाल–४ र ५ मा र अरू संरचना सेती नदीको बायाँ किनारमा रहनेछ । आयोजना ४० मिटर लामो र १४ मिटर अग्लो बाँध बन्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्