
काठमाडौं । सन् २००७ मा पलेँटीमा पहिलोपटक गीत सुनाएकी संगीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छन् । दुई घण्टासम्म चलेको पलेँटीमा संगीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरिन् ।
कार्यक्रमको सुरुआत खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री’को विलम्वित लयमा उनी आफैँले सृजना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ’ प्रस्तुत भएको थियो ।
तीनतालमा रहेको मध्यलयको बन्दिस ‘उनी उनि रहिछौ किन हो संगिनी’ कविवर माधव घिमिरेको शब्दरचना थियो ।
कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग ‘माझ–खमाज’मा आधारित थियो । यसपटकको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो ।
लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीता प्रधानलाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि कै हो । त्यो इच्छालाई आंशिक रुपमा भए पनि यसपाली पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् ।
आभासले माझ खमाजमा रहेको ठुमरीको बोल– ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ‘मौन बसी बित्यो रात’ लेखेका हुन् । त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।
कार्यक्रमको तेस्रो चरणमा संगीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । गीति चरणको सुरुआतमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए । पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ रहेको थियो । जसलाई संगीतकार गुरुदेव कामतले धुन भरेका थिए ।
कालीप्रसादको दोस्रो रचना– ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’लाई संगीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो ।
‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’, ‘तिर्सना छल्किन्छ’ र ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’लगायत गीत उनले गाएको नेपालयले प्रेस नोटमा उल्लेख गरेको छ ।
उनले ‘आँगनमा आज मेरा प्रियतम आए’, ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’, ‘किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ’लगायत गीत गाइन् ।