site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ह्याक’ गरेर काटियो नेपाल एयरलाइन्सको टिकट*

काठमाडौं । नेपाल एयरलाइन्सबाट अनधिकृतरूपमा टिकट काटेको खुलेको छ । यही जुन १४ मा काठमाडौं हुँदै बैंकक गएको नेपाल एयरलाइन्सको टिकट एजेन्टको अकाउन्ट ह्याक गरेर काटिएको खुलेको हो ।

एजेन्टको सिस्टम ह्याक गरेर टिकट काटेको खुलेपछि एयरलाइन्सले प्रहरीलाई खबर गरेको थियो । ह्याक गरेर काटेको टिकटबाट बैंकक जान लागेका यात्रीलाई पक्राउ गर्न प्रहरी विमानस्थल पनि पुगेको थियो । तर, टिकट काटिएका व्यक्ति नै विमानस्थल पुगेनन् । र, बैंकक पनि गएनन् । अरू यात्रीसहित विमान उडेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्टले प्रयोग गर्ने अकाउन्टमा ह्याकर समूहले पहुँच पुर्‍याएर टिकट काटेको खुलेको छ । त्यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।

एक प्रहरी अधिकारीले बाह्रखरीसित भने, ‘‘यो एउटा टिकटमात्रै काटेको घटना हो । तर, यसको उद्देश्य ठूलो हुन सक्छ । हामी अनुसन्धान गर्दै छौँ । यो ठूलो चुनौती हुन सक्छ ।’’

प्रहरी अधिकारीका अनुसार, नेपाल एयरलाइन्सकै टिकट काट्ने एजेन्टको ‘कोड’ प्रयोग गरेर त्यस्तो कार्य गरेको देखिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले पनि अनधिकृतरूपमा टिकट काटिएको बताए । उनले नेपाल एयरलाइन्सको सिस्टम नभई एजेन्टको सिस्टम ह्याक भएको बताए । अनधिकृतरूपमा टिकट काटिएको खुलेपछि एजेन्टले नै प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

"हाम्रो अकाउन्ट ह्याक भएको होइन । हाम्रो एजेन्टको सिस्टम ह्याक भएर एउटा टिकट काटिएको रहेछ । तर, टिकट काटिएको व्यक्ति चढ्न गएनन् । त्यो टिकट पनि हामीले अर्को मानिसलाई बिक्री गरेर पठाएका हौँ," उनले भने ।

*एजेन्टको अकाउन्ट ह्याक भएको हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्