site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रकरण : अनियमितताबारे छानबिन गर्न लेखा समितिमा माग

काठमाडौं । जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानबिन गर्न लेखा समितिमा माग गरिएको छ । डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको भनि उजुरी दिएका थिए । सोही उजुरीका आधारमा शुक्रबारको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमललाल मोदीले कुनै पनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा सुरुबाटै अनियमितता भएको बताए ।

उनले खरिद नियमावलीअनुसार जोडिएका विषयहरूमाथि खेलबाड गरिनुले गम्भीर प्रश्न उठेको उल्लेख गरे । उनले यसबारे लेखा समितिले छानबिन गर्नुपर्ने बताए । “कुनै पनि ठेक्का लगाउँदा मापदण्ड हुन्छ । मापदण्डमा चारवटा कम्पनी राखिएको थियो । चारमा दुईवटालाई पहिल्यै फालिए । उनीहरूको मापदण्ड पुगेन । दुई कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेन्ट जोवाइन्ट कम्पनी जुन छ, जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरुले लिएर कपी पेस्ट गरेर राखेका रहेछन् । ति डकुमेन्टहरू चेक गर्नुपर्छ । उनीहरुले पेश गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न,” उनले भने ।

Argakhachi Cement Island Ad

नेपाली कांग्रेसका सांसद राजन केसीले झुटो जालसाझी गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए । उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे । “नक्कली डकुमेन्टका बारेमा प्रश्न उठेको छ । सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गरौँ । त्यतिन्जेल केही काम अघि नबढाउन निर्देशन दिनुपर्छ,” उनले भने । 

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातबारे प्राविधिकहरूलाई राखेर छानबिन गरिनुपर्ने बताए । उनले दुवैतिर ख्याल गरेर छानबिन हुनुपर्नेमा जोड दिए । “हामी खासै कुरा बुझ्दैनौँ । टेक्निकल मान्छे राखेर डकुमेन्ट चेक गराउनुपर्छ । अहिले ठेक्का आफूले नपाएपछि जालझेल गरेर रोक्ने प्रचलन पनि छ, हामीले ख्याल गर्नुपर्छ,” उनले भने । 

केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झुटो कागजात बनाएको आरोपमा दुईवटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानबिन थालेको थियो । 

लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्