
काठमाडौं । एनसेल फाउन्डेसनले ‘सीप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ । सीप विकासअन्तर्गत काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठूलो सीप विकास कार्यक्रम हो ।
यस कार्यक्रमअन्तर्गत, व्यवहारिक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ ।
एक कार्यक्रममाझ काठमाडौं महानगरपालिका र एनसेलबीच सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।
काठमाडौं महानगरपालिकातर्फबाट सीप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशिल अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
“एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गछौँ । सीप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवाहरूलाई व्यवहारिक सीपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,” एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन् ।
जेठ ७ गतेदेखि सुरु भएको सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा दुई हजार ४२४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसा छन् ।
विशेष क्षमता सहयोगी तालिम (स्पेशल एबीलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी दुईवटा पेसाका तालिम चलिरहेका छन् । हाउस किपिङ् बहिरा अपांगता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरूको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटीभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी चारवटा पेसाका तालिम सञ्चालित छन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुईवटा पेसाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम छन् । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी चार पेसाका तालिम छन् । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीनवटा पेसाका तालिम सञ्चालित छन् । आर्ट एन्ड स्कप्चरमा थांका, सेरामिक्स (टेराकोटा) गरी दुईवटा पेसाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन् ।
कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै, स्टक मार्केट सम्बन्धी तालिम चलिरहेको छ ।
एनसेल फाउन्डेसन र काठमाडौं महानगरपालिकाबीचको यो सहकार्यले युवाहरूका लागि समावेशी अवसरहरू सिर्जना गर्ने तथा रोजगारीयोग्य सीप विकासमार्फत दिगो विकासमा योगदान दिने फाउन्डेसनको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरूमार्फत दिगो प्रभाव पार्ने मूलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।
काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवर्द्धन गर्ने जस्ता कार्यमार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँग मात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।
हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।