
काठमाडौं । राष्ट्रिय योजना आयोग र यूएन इस्क्यापको सहआयोजनामा हुने राष्ट्रिय कार्यशालाको तयारी छलफल सम्पन्न भएको छ ।
आगामी जुन १६ र १७ (असार २ र ३) गते कोसी प्रदेशको काँकरभिट्टामा ‘पूर्वी–दक्षिण एसियामा व्यापार तथा यातायात अन्तरआबद्धता, चुनौती र आगामी कार्यदिशा’ विषयक उपक्षेत्रीय कार्याशाला हुँदै छ ।
त्यस्तै, आगामी जुन १९ र २० (असार ५र ६)मा काठमाडौंमा ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति, नेपालको सहज स्तरोन्नति रणनीति चुनौति तथा आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशालाको आयोजना हुँदै छ ।
दुवै कार्यशालाको आवश्यक तयारी सम्बन्धमा शुक्रबार योजना आयोगमा छलफल भएको हो । आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा बसेको तयारी बैठकमा आयोगका सदस्य सचिव सुमनराज अर्याल, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतलगायत विभिन्न मन्त्रालयका सहसचिव र निजी क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।
छलफलमा दुईवटै कार्यशालालाई प्रभावकारी बनाउने र यसका निम्ति सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग गर्नेबारे छलफल भएको छ । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्यअनुसार थप क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको र राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकता दिनुपर्नेमा छलफलमा जोड दिइयो ।
नेपाल–भुटान–बंगलादेशबीचको व्यापार तथा पारवहन सहजीकरणका निम्ति काँकरभिट्टा पानीट्यांकी हुँदै फुलबारी बंगलाबन्द स्थलगत भ्रमण अध्ययन गर्ने साथै सन् २०२६ मा हुने स्तरोन्नतिको निम्ति व्यापार अन्तर्राष्ट्रिय सहायता परिचालन, आन्तरिक उत्पादकत्व अभिवृद्धि, वातावरण र विपद् व्यवस्थापन, उत्पादकत्व अभिवृद्धिलगायत विषयमा छलफल भएको बताइएको छ ।