
काठमाडौं । चलचित्र ‘बिगुल’मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गीत समावेश हुने भएको छ ।
समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुने चलचित्र ‘बिगुल’को एउटा गीतमा कांग्रेस महामन्त्री शर्माको शब्द तथा संगीत रहनेछ ।
‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत रेकर्ड भइसकेको छ । गीतमा स्वर राजेश पायल राईको छ ।
सिनेमालाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले ‘बिगुल’ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको विषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
‘बिगुल’मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायत कलाकार अनुबन्धित भइसकेका छन् ।
शिव ढकालले खिच्ने चलचित्रको कथा दिनेश कोइरालाले लेखेका छन् । पटकथा, संवाद मौनता श्रेष्ठले लेखेका छन् ।
वैशाख तेस्रो साताबाट छायांकन सुरु हुनेछ । चलचित्रका गीतमा विश्वप्रकाश शर्माका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहनेछ ।