
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–९, शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारीको लागि सम्झौता भएको छ । वैशाख १ गते एक कार्यक्रमबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् ।
कास्कीलगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरूबाट बिक्री वितरण भइरहेको छ । दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रूपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई सम्झौता गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । त्यस्तै, बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरे ।
सम्झौताले पोखरा महानगरपालिका–९ स्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायीहरूलाई दैनिक कारोबार नगदरहीत बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ । यसका साथै, व्यवसाय विस्तारका लागि बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।