
काठमाडौं । अन्ततः निर्देशकद्वय रामबाबु गुरुङ र उपेन्द्र सुब्बा सहकार्य गर्न एक ठाउँमा आइपुगेका छन् । ‘जारी’ ब्लकबस्टर भएपछि गुरुङ र सुब्बाबीच चिसिएको सम्बन्ध ‘जारी–२’ निर्माण हुने बेलासम्म आइपुग्दा सुधार भएको हो ।
सम्बन्धमा देखिएको दरार पुर्न काम गरे उपेन्द्रको ‘मनसरा’ र रामबाबुको ‘डिग्री माइला’ले । सम्बन्ध चिसिएपछि उपेन्द्र एक्लैले ‘मनसरा’ बनाएका थिए, रामबाबुले ‘डिग्री माइला’ । तर, यी दुवै चलचित्र बक्सअफिसमा असफल भएपछि उनीहरू पुनः सिनेमा निर्माणमा एक ठाउँमा आइपुगेका हुन् ।
रामबाबुको निर्देशन रहने चलचित्रमा उपेन्द्र स्क्रिप्ट राइटरका हुन्थे । उपेन्द्रको सिनेमामा रामबाबु निर्माताका रूपमा रहन्थे । रामबाबुले स्क्रिप्ट लेखनमा पनि उपेन्द्रसँग सहकार्य गर्ने गरेका थिए । यी दुईको सहकार्यमा ‘कबड्डी’ सिरिज र ‘जारी’ हिट भएका थिए । तर, जब उनीहरू अलग भएर चलचित्र बनाए, दुवै सफल हुन सकेनन् ।
रामबाबु र उपेन्द्रले नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र ‘जारी–२’ निर्माण घोषणा गरेका हुन् । ‘जारी’को सिक्वेल निर्माण हुने लागेको हो । उपेन्द्रको लेखन तथा निर्देशन बनाइने चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ ।
सोमबार फर्स्टलुक सार्वजनिक गर्दै ‘जारी–२’ निर्माण घोषणा गरिएको हो । ‘जारी २’ यही वर्षको दसैँमा रिलिज गरिने निर्माणपक्षले जनाएको छ ।
चलचित्र वैशाख तेस्रो साताबाट फ्लोरमा जानेछ । छायांकन पाँचथरमा गरिनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् ।