
काठमाडौं । चलचित्र निर्माताहरूले भर्चुअल प्रिन्ट कस्ट (भीपीसी)को शुल्कमा अब २५ प्रतिशत कम रकम तिरे हुने भएको छ । डीसीएन (डिजिटल सिनेमा नेटवर्क) र निर्माता संघबीच भएको छलफलले भीपीसीमा २५ प्रतिशत घटाउने निर्णय गरेको हो ।
“निर्माताले बल्कमा एउटा चलचित्रको एक लाख ७० हजार तिर्दै आएकोमा अब यसको मूल्यमा २५ प्रतिशत घटाउने निर्णय भएको छ,” संघका द्वितीय उपाध्यक्ष दीपेन्द्र के. खनालले भने, “अब प्रतिचलचित्र एक लाख २७ हजार ५०० तिरे हुने भएको छ ।”
यदि, एकमुष्ट रकम नतिर्ने हो भने सिनेमा प्रदर्शन गर्दा प्रतिशो टु के फिल्मको ५० रुपैयाँ र नन् टुके फिल्मको २५ रुपैयाँ लिँदै आएकोमा २५ प्रतिशतले घटेको छ ।
भीपीसीमा एकमुष्ट रकम नतिर्नेले प्रतिशोको शुल्क डीसीएनलाई तिर्नुपर्ने नियम छ ।
“नियमित फिल्म बनाउनेका लागि यो ठूलो राहत हो,” खनालले भने, “लामो समयदेखि निर्माताले माग गर्दै आएकोमा पूरा भएको छ ।”
निर्माताहरूले सिनेमा चले पनि नचले पनि डीसीएनलाई मोटो रकम बुझाउनु परेको भन्दै गुनासो गर्दै आएका थिए ।