
काठमाडौं । उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको चलचित्र ‘समर लभ’बाट नेपाली सिनेमामा डेब्यु गरेका अभिनेता आशिष पिया पुनः ठूलो पर्दामा देखिने भएका छन् ।
‘समर लभ’ रिलिजको पाँच वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् ।
यो सिनेमाको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु)ले गर्नेछन् । उनी पनि करिब एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।
लभस्टोरी ‘अमिगोस’को छायांकन भदौबाट नेपाल र अस्ट्रेलियामा हुनेछ ।
बीएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा ‘अमिगोस’लाई विकास आचार्यले निर्माण गर्नेछन् । सुरेन्द्र रावल सह–निर्माता रहनेछन् ।