
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन थपे । उनले ३५ बलमा चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १४ र बसिर अहमेदले १३ रन थपे । किरण ठगुन्नाले १० रन जोडे ।
स्कटल्यान्डका माइकल लियस्क र सफयनज सरिफले समान दुई विकेट लिए । जास्पेर डाभिडसन, ज्याक सारिफ, वार्क वाट र ब्रान्डन म्याकमुलमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिम नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो ।
यसबाहेक, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रोपटकमा जित निकालेको थियो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एकमात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।
आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।