site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कमल थापाको त्यो वक्तव्य र यो प्रक्राउ...

काठमाडौं । राजा फर्काउने आन्दोलनमा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा आइतबार पक्राउ परे । 

उनै थापा ०६२/६३ को जनआन्दोलनताकाका पत्रकार सम्मेलनमै गरी भन्ने गर्थे, ‘‘आन्दोलनकारीलाई गोली ठोक्ने आदेश दिएको छु ।’’

उनी निरंकुश शाही शासनकालीन गृहमन्त्री हुन् । 

Argakhachi Cement Island Ad

१९ वर्षपछि राजतन्त्रका पक्षमा आन्दोलन गर्दा उनै थापा प्रहरीको नियन्त्रणमा परे । 

०६२/६३को जनआन्दोलन दबाउनेमध्येका प्रमुख व्यक्ति थापालाई कृष्णजंग रायमाझीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबझ आयोगले दमनकारी, राष्ट्रिय धन दुरुपयोगकर्तामा सूचीकृत गरेको छ । 

उनले ०६४ सालको संविधानसभा निर्वाचनमा भाग लिए । उनी पराजित भए । समानुपातिक मतका कारण संविधानसभामा पार्टीको प्रतिनिधित्व सुनिश्चित गर्न सफल भएका थिए ।

त्यसो त, उनलाई २०७२ मा केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा संघीय मामिला मन्त्री पद मिल्यो, गठबन्धन खेलमा । 

उनै थापाले उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि नेपालको संविधानको पक्षमा उभिन भारत सरकारलाई कूटनीतिक नोटसमेत पठाएका थिए ।

उनले चुनावमा जनतासामु गणतन्त्र र लोकतन्त्रविरुद्ध मुद्दा बाँडे । तर, संसदमा प्रवेशपछि संविधान रक्षाका लागि काम गरे । यद्यपि ‘राजतन्त्र’को एजेन्डा छाडेका थिएनन् ।

त्यसयता राजतन्त्र बोक्ने एक्लो दल बनाउँदै अघि बढेका थिए, थापा । तर, ०७८ चैतमा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भए । त्यो हारमा निर्मल निवासको ‘खलनायकी’ भूमिका उजागर गर्दैै पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोश पोखेका थिए ।

आफू पराजित हुनुमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको निष्कर्ष निकालेका थिए । सँगै थापाले राप्रपासँगै राजतन्त्रको मुद्दा पनि छाडेको घोषणा गरेका थिए ।

त्यो हारलाई अस्वीकार गर्दै उनी राप्रपाबाट अलग भए । पुरानै ‘राप्रपा–नेपाल’ ब्युँताए । उनले राजसंस्थाले तटस्थ भूमिका खेल्न र साझा अविभावको भूमिका निभाउन नसक्ने निस्कर्ष पनि सुनाए । लोकतन्त्रको विकल्प राजतन्त्र बन्न नसक्ने ठोकुवा समेत उनको थियो । 

यस्तो थियो, ज्ञानेन्द्रप्रति आक्रोशयुक्त वक्तव्य
राप्रपामा पराजय भएसँगै ०७८ चैत ११ मा थापाले सार्वजनिक गरेको भिडियो वक्तव्यको सार यस्तो छ :

‘‘०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिंगो देश गणतन्त्र भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । 
त्यसको पुरस्कारस्वरुप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सधैँको निमित्त समाप्त पार्नेगरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्यो । आखिर निर्मल निवासले मविरुद्ध यति कठोर कदम किन चाल्यो ?  कुनै दिन मौका पाए भने राजालाई यसबारे म अवश्य सोध्नेछु ।
तर यस घटनापछि मैले मेरो सोचाइमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरे । मैले मेरो अन्तरआत्मालाई सोधे– मेरो अगाडि कुनै विकल्प रहेन । वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको अभ्यासका बाबजुद राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार गर्ने विश्वास जित्नेबारेमा राजा वा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन सकेन । जसका परिणामस्वरुप राजसंस्था राजनीतिक दल र जनताकाबीचको दुरी बढ्दै गयो । अविश्वास बढ्दै गयो र राजसंस्था पुनस्र्थापनाको संभावना क्षीण हुँदै गयो । एकातर्फ यस्तो अवस्था रह्यो भने अकार्तर्फ सतप्रतिशत राजावादी भएको राप्रपामा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेर राजसंस्था साझा अविभावकको रुपमा रहन सक्दैन निस्क्रिय भएर रहन सक्दैन भन्ने सन्देश प्रभाहित गर्यो । यो पृष्ठभूमिमा हामीले सोच्यौ कि अब लोकतन्त्र हिन्दु राष्ट्र सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को विकल्प छैन ।’’

राप्रपाको महाधिवेशनबाट पराजित भएपछि राजतन्त्रकै मुद्दा छाडेका थापा तीन वर्षपछि फेरि पुरानै धारमा फर्किएर राजतन्त्र पुनर्स्थापनाका लागि अग्रपंक्तिको मोर्चामा छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्