site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

यस वर्षको मनसुन वितण्डासहित नेपाल प्रवेश गरेको छ । गत बिहीवार पूर्वी नाकाबाट नेपाल भित्रिएको मनसुनी वर्षाबाट आएको बाढीले पहिलो दिनमै विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ‘बिहान’ले दिउँसोको झल्को दिन्छ भन्ने मान्ने हो यस वर्षको मनसुनको लक्षण राम्रो देखिँदैन ।

यसो त किसानहरूको मुलुक नेपालमा मनसुनको प्रतीक्षा व्यग्रतापूर्वक गरिन्छ । खडेरी पर्‍यो भने ‘भ्यागुताको बिहा’देखि अनेकौं पूजापाठ, तन्त्रमन्त्र गरेर पनि पानी मागिन्छ । तर, त्यही पानी धेरै पर्‍यो भने कहर बन्नपुग्छ पहाडमा पहिरो र मधेसमा बाढीका रूपमा ।

नेपालीका लागि मनसुनमा बाढी पहिरोको प्रकोप नौलो होइन । पुस्तौंदेखि भोग्दै आएको र पुस्तौंसम्म भोगिरहनुपर्ने विपद् हो यो । यसैले विपद् न्यून गर्ने र असरबाट जोगिने प्रयासमा समुदाय, परिवारमात्र होइन राज्यसमेत अभ्यस्त भइसक्नुपर्ने थियो । दुर्भाग्य, त्यसो हुन सकेको छैन ।

Argakhachi Cement Island Ad

पहिलो त विकासका नाममा विपद् बढाउने प्रकृतिका क्रियाकलाप अनवरत चलिरहेकै छ । प्रकृतिलाई जति खजमज्यायो उति कहर सहनुपर्छ भन्ने हेक्का नीति निर्माताले राखेको देखिए पनि कार्यान्वयनका समयमा बिर्सने गर्छन् । बर्सेनि उस्तै प्रकारका मूर्खता दोहोर्‍याइरहेका हुन्छन् । 

यो वर्ष सरदरभन्दा १५ दिन पहिले नै मनसुन भित्रियो । जल तथा मौसम विभागका अनुसार हालसम्म कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै भागसम्म मनसुन पुगिसकेको छ । पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै पश्चिममा पुग्छ ।  

मनसुनजन्य प्रपोप टार्न वा सार्न सक्ने क्षमता हामीसँग छैन । यसैले मनसुन पर्खनु र सहनुको पनि विकल्प छैन । तर, यस हरेक वर्ष दोहोरिने विपद्को क्षति कम गर्न उद्धारलगायतको पूर्वतयारी भने गर्न सकिन्छ । अहिले ध्यान त्यसैमा केन्द्रित गर्नु जरुरी छ ।

निवेदनमा तोक लागेपछि बल्ल तात्ने प्रशासनिक संस्कृति भएको राज्यमा पूर्वतयारी अपेक्षाकृत नौलो अभ्यास हो । हाम्रो शासकीय स्वभाव त आगो लागेपछि इनार खन्ने प्रकृतिको छ । तर, अब त प्रकोपको प्रकृतिअनुसार हाम्रो प्रशासकीय संस्कृति पनि बदलिनुपर्छ ।

विशेषगरी बाढी, पहिरो, डुबान र कटानको जोखिम भएका क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई सजग गराउन तीनै तहका सरकारले आआफ्ना संयन्त्र क्रियाशील बनाउनुपर्छ । यस्तै, मौसम पूर्वानुमानको सकेसम्म सही सूचना तत्काल सम्बन्धित सबै ठाउँमा पुग्ने पद्धति पनि सक्रिय हुनुपर्छ । 

राज्यले नागरिकको जिउधनको सुरक्षा गर्न र विपद्जन्य असुविधा कम गर्न विशेष ध्यान देओस् । राजमार्गहरूमा पहिरो र बाढीको जोखिम भएका ठाउँको निगरानी र उद्धारको तयारीमा हेलचेक्य्राइँ हुनुहुँदैन । नियम पालनामा खेलाँची गरेर गत वर्ष धादिङ र काभ्रेमा भएजस्ता दुर्घटना नहोउन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्