
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले केहीबेर प्रहरी परिसरमै थुनिदिएको छ ।
‘चर्को बोलेको’ आरोपमा उनलाई थुनामा राखिएको प्रहरीले जनाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठकाअनुसार थापालाई भेट्न दुईजना परिसर पुगेका थिए । तर प्रहरीले कुराकानीकै क्रममा श्रेष्ठलाई बाहिर निकालेर सिंहलाई नियन्त्रणमा राखेको थियो । “दीपक सिंहले चर्को बोलेर प्रहरीमाथि नै नकारात्मक टिप्पणी गरेको हुनाले केहीबेर सोधपुछका लागि राखेका हौँ,” परिसरका एसपी अपिल बोहोराले भने ।
तर थापाका बारेमा भने प्रहरीले निर्णय गर्नै बाँकी रहेको जानकारी गराएको छ । आइतबार दिउँसो काठमाडौंको नक्लाल नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पूर्व गृहमन्त्रीसमेत रहेका थापलाई ‘झ्याल्टुङच्याइँ’ बनाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि थापालाई ‘मापसे’ चेक गराएको थियो । “हामीले मापसे पनि चेक गराएका थियौँ, तर उहाँले मापसे गरेको पाइएन,” एक प्रहरी अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने ।