
काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गराउने 'मुख्य योजनाकार' लक्ष्मी राई र रमेश सिलवाल अझै कानुनी दायराबाहिर छन् ।
धरान उपमहानगरपालिका–१३ की ५० वर्षीया लक्ष्मी र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेशको 'योजनामा' विक्रममाथि गएको कात्तिकमा लाजिम्पाटमा आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरे पनि राई र सिलवाल अझै फरार छन् ।
सुपारी लिएर आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा छन् । नुवाकोटको ककनी–४ का ३३ वर्षीय लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको लामो समयपछि पक्राउ गरेको थियो ।
अजयसँगै निश्चल सुनार र नुवाकोटको बेलकोटगढी नगरपालिकाका मार्सल भनिने शैलेन्द्र तामाङसमेत पुर्पक्षका लागि थुनामा छन् । आक्रमणमा संलग्न रहेको आरोप लागेका गोरखाका दीपक बरामुलाई भने जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको थियो ।
विक्रममाथि लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । उनी लामो समयको उपचारपछि घर फर्किएका थिए ।
पक्राउ परेका अजयले आफूले राई र सिलवालको योजनामा विक्रममाथि आक्रमण गरेको बयान दिएका थिए । तर, लक्ष्मी र रमेश दुवैले देश छाडेका कारण पक्राउ पर्नबाट जोगिएका थिए ।
उनीहरू दुवैलाई प्रहरीले प्रतिवादी बनाएको छ । प्रहरी अधिकारीका अनुसार, लक्ष्मीले बेलायतमै न्यू लक्ष्मी ज्वेलर्ससमेत सञ्चालन गरेकी छन् । उनी घटनालगत्तै सिलवाललाई समेत साथमै लिएर बेलायत पुगेकी थिइन् । तर, पछिल्लोपटक राई बेलायतबाट दुबई पुगेको खुलेको छ ।
उनी दुबईमा विभिन्न ठाउँमा घुमफिर र मदिरा पिउँदै गरेको भिडियो बाह्रखरीले फेला पारेको छ । नेपाल फर्किंदा पक्राउ पर्ने डरले उनी आउन नसकेको प्रहरीको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)मार्फत पक्राउको प्रक्रियामा ढिलाइ गर्दा उनी विभिन्न ठाउँ निर्वाधरूपमा घुमफिरमा सक्रिय देखिएकी हुन् ।
उसो त राईसित बेलायती पासपार्ट रहेको र त्यही पासपोर्टमार्फत यात्रा गर्ने हुँदा इन्टरपोलमार्फत पक्राउ गर्न असहज हुने प्रहरी अधिकारी बताउँछन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले पनि राईले विदेशी पासपोर्ट लिएको खुलेपछि इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाउन प्राविधिक समस्या देखिएको स्वीकार गरे ।