
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले साढे २५ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।
यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
दायर गरिएको मुद्दामा सबैजनासँग २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।