
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको ग्रीनल्यान्ड भ्रमण त्यतिबेला भइरहेको छ जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ भन्ने आवाज उठाइरहेका छन् ।
ट्रम्प किन ग्रीनल्यान्ड लिन चाहन्छन् ?
ग्रीनल्यान्डको भूगोल रणनीतिक स्थान र प्राकृतिक संसाधन र स्रोतहरूले अमेरिकालाई फाइदा पुर्याउन सक्छ। यो एकातिर युरोप र उत्तर अमेरिकाबीचको सबैभन्दा छोटो मार्गमा पर्छ भने अर्कोतिर अमेरिकाको ब्यालिस्टिक मिसाइल पूर्वचेतावनी प्रणालीको लागि अत्यन्त महत्त्वपूर्ण छ ।
अमेरिकाले यस द्वीपमा आफ्नो सैन्य उपस्थिति बढाउन र यहाँ रडार स्थापना गरेर ग्रीनल्यान्ड, आइसल्यान्ड र ब्रिटेनबीचको समुद्री मार्ग निगरानी गर्न रुचि देखाएको छ । यो क्षेत्र रूसी नौसेना र परमाणु पनडुब्बीहरूको प्रवेशद्वार हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार पनि ग्रीनल्यान्ड कब्जा गर्ने आफ्नो इच्छा फेरि दोहोर्याए र अमेरिकाले यसलाई प्राप्त गर्न आवश्यक भएसम्मका सबै कदम चाल्ने बताए । यस द्वीपको राजधानी नुक डेनमार्कको राजधानी कोपनहेगन भन्दा पनि न्युयोर्कको नजिक छ । यहाँ खनिज, पेट्रोलियम र प्राकृतिक ग्यासको प्रचुर भण्डार छ, तर विकास एकदमैकम गतिमा भइरहेको छ र खनन क्षेत्रमा अमेरिकी लगानी न्यून छ। ग्रीनल्यान्डमा संचालित कम्पनीहरू प्रायः अस्ट्रेलियाली, क्यानाडेली वा ब्रिटिश हुन् ।
एक ह्वाइट हाउस अधिकारीले बताएअनुसार ग्रीनल्यान्डमा दुर्लभ धातुहरूको प्रचुर आपूर्ति छ, जसले अमेरिकी अर्थतन्त्रको अर्को पुस्तालाई शक्ति प्रदान गर्न सक्छ ।
अमेरिकाको हालको उपस्थिति के छ ?
अमेरिकी सेनाले ग्रीनल्यान्डको उत्तर-पश्चिममा रहेको पिटुफिक अमेरिकी सेनाको स्थायी हवाई बेस छ।
सन् १९५१ मा अमेरिका र डेनमार्कबीच भएको सम्झौताले अमेरिकालाई ग्रीनल्यान्डमा स्वतन्त्र रूपमा घुम्ने र सैन्य अड्डा निर्माण गर्ने अधिकार दिएको छ ।
ऐतिहासिक रूपमा, डेनमार्कले अमेरिकालाई सहयोग गर्दै आएको छ किनभने डेनमार्कसँग ग्रीनल्यान्डको रक्षा गर्ने क्षमता छैन र नाटोमार्फत् अमेरिकाले डेनमार्कलाई सुरक्षा ग्यारेन्टी दिएको कोपनहेगन विश्वविद्यालयको सेन्टर फर मिलिटरी स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता क्रिस्टियन सोबी क्रिस्टेन्सन बताउँछन् ।
ग्रीनल्यान्डको हालको अवस्था के छ ?
ग्रीनल्यान्ड द्वीप डेनमार्कको पूर्व उपनिवेश हो र डेनमार्कको संविधान अन्तर्गत १९५३ देखि नोर्डिक राज्यको आधिकारिक भूभाग बनेको छ । सन् २००९ मा यस द्वीपलाई व्यापक स्वायत्तता प्रदान गरिएको थियो, जस अन्तर्गत जनमत संग्रहमार्फत् डेनमार्कबाट स्वतन्त्रता घोषणा गर्ने अधिकार समावेश छ ।
२००९ को कानून अनुसार, ग्रीनल्यान्डको संसद्ले डेनमार्क र ग्रीनल्यान्डलाई पूर्ण स्वतन्त्रता प्राप्त गर्ने बारेमा वार्ता सुरु गर्न बाध्य बनाउने एक प्रावधान लागू गर्न पनि सक्छ ।
स्वतन्त्रता प्राप्त गर्न ग्रीनल्यान्डका जनताले जनमत संग्रह मार्फत स्वतन्त्रतालाई समर्थन गर्नुपर्छ र डेनमार्क र ग्रीनल्यान्डबीचको स्वतन्त्रता सम्झौताले डेनमार्कको संसदको स्वीकृति पनि आवश्यक छ ।
यसैबीच मार्च ११ मा भएको निर्वाचनमा प्रथम स्थान प्राप्त गरेका डेमोक्रेट्स पार्टीका नेता जेन्स-फ्रेडरिक निल्सनले अमेरिकाले द्वीप नियन्त्रण गर्ने प्रयासको सामना गर्दै एकताको प्रदर्शन गर्न व्यापक गठबन्धन सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् । उक्त पार्टीले डेनमार्कबाट क्रमिक स्वतन्त्रताको पक्षमा रहेको छ ।
ग्रीनल्यान्डले के चाहन्छ ?
औपनिवेशिक शासनकालमा ग्रीनल्यान्डवासीहरूप्रति ऐतिहासिक दुर्व्यवहारको खुलासा भएपछि ग्रीनल्यान्ड र डेनमार्कबीच सम्बन्ध तनावपूर्ण भएको थियो । तर, ट्रम्पले यस द्वीपलाई अमेरिकाको भाग बनाउन चाहेपछि डेनमार्कले ग्रीनल्यान्डसँगको सम्बन्ध सुधार्ने कार्य तीव्र पारेको छ।
जनमत सर्वेक्षणअनुसार, ग्रीनल्यान्डका ५७ हजार बासिन्दामध्ये बहुमतले स्वतन्त्रतालाई समर्थन गरेको देखिन्छ, तर उनीहरू स्वतन्त्रताको समयरूपरेखा र जीवनस्तरमा पर्ने सम्भावित प्रभावबारे विभाजित छन् ।
धेरै ग्रीनल्यान्डवासीहरूले उत्ताउलो नहुन चेतावनी दिएका छन् । उनीहरूलाई के डर छ भने डेनमार्कबाट छिटो स्वतन्त्रता माग्दा ग्रीनल्यान्ड आर्थिक रूपमा कमजोर हुन सक्छ र अमेरिकाको शिकार बन्न सक्छ। अधिकांश ग्रीनल्यान्डवासीहरू नयाँ औपनिवेशिक शासक चाहँदैनन् ।
ग्रीनल्यान्डको अर्थतन्त्रको मुख्य आधार माछा पालन हो । यसले ग्रीनल्यान्डको निर्यातको ९५% भन्दा बढी हिस्सा ओगट्छ । ग्रीनल्यान्ड डेनमार्कबाट वार्षिक सहुलियतमा पनि निर्भर छ । यसले सार्वजनिक बजेटको लगभग आधा खर्च पूरा गर्छ ।
डेनमार्कले प्रत्येक वर्ष ग्रीनल्यान्डमा करिब १ अर्ब डलर खर्च गर्छ जुन एक व्यक्तिको १७,५०० डलर हुन्छ । २०१९ देखि ग्रीनल्यान्डका राजनीतिज्ञहरूले अमेरिकासँग सहकार्य र व्यापार बढाउनमा रुचि देखाएका छन् । तर, हालै पदमुक्त भएका पूर्व प्रधानमन्त्री म्युट एगेदेले यो द्वीप बिक्रीको लागि होइन र यसको भविष्यको निर्णय यहाँका बासिन्दाहरूले मात्र गर्नुपर्छ भन्ने जोड दिएका थिए ।
ग्रीनल्यान्ड स्वतन्त्र भए के हुन्छ ?
यदि ग्रीनल्यान्ड स्वतन्त्र भएको खण्डमा यसले अमेरिकी भूभाग नबनेर पनि अमेरिकासँग नजिक हुन खोज्न सक्छ। यो द्वीपले अमेरिकासँग फ्रि एशोसिएसनको सम्झौता गर्न सक्छ, जसले डेनमार्कको सहुलियतलाई अमेरिकी सहयोग र सुरक्षाले प्रतिस्थापन गर्नेछ र त्यसको बदलामा सैन्य अधिकार दिनेछ। यो मार्शल टापु, माइक्रोनेसिया र पलाउसँग मिल्दोजुल्दो व्यवस्था हो।
ग्रीनल्यान्ड विशेषज्ञ र वरिष्ठ अनुसन्धानकर्ता उल्रिक प्राम गडका अनुसार, ट्रम्पले ग्रीनल्यान्ड किन्ने विचार अन्तर्राष्ट्रिय कानून र आत्मनिर्णयको सिद्धान्तबारे गलत धारणामा आधारित छ, जसले जनतालाई आफ्नो राजनीतिक स्थिति चयन गर्ने अधिकार दिन्छ ।
डेनमार्क के भन्छ ?
ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिकालमा यो द्वीप किन्ने प्रस्ताव राख्दा डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले यसलाई 'अत्यन्तै हास्यास्पद' भनेकी थिइन् ।
ट्रम्पले फेरि यसमा रुचि देखाएपछि, फ्रेडरिक्सनले डेनमार्कले अमेरिकासँग नजिकैको सहकार्य गर्न चाहेको बताउँदै ग्रीनल्यान्डले आफ्नो भविष्य आफैंले निर्धारण गर्नुपर्छ भनेकि छन्। मंगलबार फ्रेडरिक्सनले अमेरिकाले यो हप्ताको भ्रमणले ग्रीनल्यान्डमा 'अस्वीकार्य दबाब' दिँदै गरेको बताउँदै डेनमार्कले यस्तो दबाबलाई विरोध गर्ने बताएकी छन्।
(दि इकोनोमिक टाइम्सबाट)