
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडले श्रीकुमारी क्लबलाई पराजित गरेको छ । सोमबार एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा वीरगन्जले श्रीकुमारीलाई २–० गोलले पराजित गरेको हो ।
वीरगन्जले पहिलो हाफमा नै अग्रता लिएको थियो । १२औँ मिनेटमा विशाल तुम्लिङ तामाङले १८ यार्डबक्स नजिकैबाट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको निर्धारित समयको अन्तिम मिनेटमा वीरगन्जका कृपाकान्त महतो थारूले टोलीको जित सुनिश्चित गरिदिए । ९०औँ मिनेटमा उनले १८ यार्डबक्स भित्र पाएको सुनौलो अवसरलाई गोलमा परिणत गरे ।
प्रतियोगितामा वीरगन्जको यो पहिलो जित हो । जितसँगै वीरगन्जले दुई खेलबाट चार अंक बटुलेको छ । यसअघि उद्घाटन खेलमा च्यासलसँग वीरगन्जले बराबरी गर्दै अंक बाँडेको थियो ।