
काठमाडौं । एन.सी.एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट सञ्चालक दीपकप्रसाद न्यौपाने र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विसं ०७५ साल कात्तिक ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको एन.सी. एग्रो टेक इण्ड्रष्ट्रिजको केन्द्रीय कार्यालय टोखा नगरपालिका वडा नं. ०८, काठमाडौंमा पर्छ । उत्पादन क्षेत्र पूर्वनवलपरासी गैँडाकोट–१४, नवलपुरमा रहेको बताइएको छ ।
कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियानअन्तर्गत : कृषि उत्पादन भई खेर गएका सामग्रीको स्वदेशी कच्चापदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले औषधीय महत्त्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रिफोला आदि च्याउहरू तथा यी च्याउका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाई विदेश समेत निर्यात गरिरहेको छ । च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम, मसरुम सुप तथा क्यान मसरुम आदि बनाइरहेको छ ।
च्याउमा देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोस्ट) उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोस्ट तथा बाँस प्रशोधन गर्दा निस्कने भुसलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचनाको समेत निर्माण गरिरहेको छ ।
नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउबीजन समेत उपलब्ध गराउने कार्य यस कम्पनीले गर्दै आइरहेको छ । यसका अलावा अत्याधुनिक स्रोतसाधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्कालगायता बाँसका अन्य वस्तुसमेत उत्पादन गर्दै आइरहेको छ ।
यसका साथै खेर गइरहेका कृषि उपजहरू जस्तैः उखुको भुस, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भुसजस्ता वस्तुहरूको प्रयोग गरी च्याउ उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको छ । यस कम्पनीमा विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरू, ख्यातिप्राप्त व्यवसायी, च्याउविज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य पेसामा संलग्न प्रबुद्ध व्यक्तित्त्वहरू रहेका छन् ।