
काठमाडौं । इलामको अन्तु कस्तो छ ? धेरैको दिमागमा एउटा तस्बिर आउँछ, चियाबारी र पोखरीको । तर, राष्ट्रिय समाचार समिति (रासस)को किताबमा प्रकाशित तस्बिर तपाईं हाम्रो दिमागमा बन्ने आकृतिभन्दा अलि फरक छ ।
‘वाइड एंगल कम्पोज’ गरीलिइएको तस्बिरमा अन्तुपोखरीसँगै दायाँबायाँको चियाबारी पनि देखिएको छ । पूर्वको पर्यटकीयस्थल इलामको अन्तुपोखरीको यो तस्बिर ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’का निम्ति रामकुमार लिम्बूले खिचेका हुन् ।
इलाम अन्तु
रासस ६४औँ वर्षमा पुगेको अवसरमा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’दुई खण्डमा विभाजित छ । पहिलो खण्डलाई ‘हाम्रो संस्कृति, हाम्रो सम्पदा’ नाम दिएको छ । दोस्रो खण्डको नाम ‘समृद्धिका लागि पूर्वाधार’राखिएको छ ।
‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’मा पहिलो तस्बिरका रूपमा नेपालको संविधान २०७२ प्रमाणीकरणपछि ०७२ असोज ३ गते संविधानसभाबैठकमा राष्ट्रपति डा. रामवरण यादव र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको फोटो छापिएको छ । जसमा डा. यादवले संविधानदेखाउँदै गरेको तस्बिर छ । यो तस्बिर रत्न श्रेष्ठले खिचेका हुन् ।
दोस्रो तस्बिर उक्त विधेयक प्रमाणीकरणपछि संविधानसभा अध्यक्ष नेम्वाङले सार्वजनिक गर्दै गरेको राखिएको छ ।
तेस्रोमा नारायणहिटी दरबारमा गणतन्त्र स्मारकको तस्बिरले स्थान पाएको छ ।
धार्मिकस्थलको तस्बिरमा सबैभन्दा पहिले स्थान पाएको छ, पाथीभरा मन्दिरले ।
‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’मा धार्मिक, सांस्कृतिक, जातीय पहिचान, भौगोलिक विविधतालगायत तस्बिर राखिएको छ ।
पृष्ठ ७५ मा छापिएको सेरिंगे नृत्यको तस्बिर निकै अर्थपूर्ण छ । कुलदीप न्यौपानेले खिचेको उक्त तस्बिरमा दाङको घोराहीका स्थानीय मगर समुदायका व्यक्ति छन् । जातीय पहिरनसहित नृत्य गरिरहेका व्यक्तिमा युवायवतीसहित र एक वृद्धा छिन् । उमेर ढल्किएकाहरूभन्दा युवापुस्ता यो तस्बिरमा धेरै देखिएको छ ।
यसले वर्तमान पुस्ता आफ्नो कला, संस्कृति र पहिचानप्रति लगाव राख्दैन भन्ने भाष्यलाई चिर्ने काम गरेको छ ।
झाँक्री मेलाको तस्बिर छ, जुम्ली ठूली भैली छ, पैसरी नाच छ, मुंग्रहवा नाचको तस्बिर छ । छलिया नाच छ । सखिया नृत्य छ । यसले लोप हुन लागेको संस्कृति र संस्कारलाई देखाइदिने काम गरेको छ ।
सौका समुदायको पहिरन समेटेको ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’मा राउटे जातिपनि अटाएको छ ।
दोस्रो खण्डको पहिलो तस्बिर सुदूरपूर्वको ताप्लेजुङको सुकेटार विमानस्थलको छ । विमानस्थलको रनवे पिच भएको यो पहिलो तस्बिरले देश पूर्वाधार विकासमा अगाडि बढिरहेको संकेत गरेको छ ।
भविन कार्कीले खिचेको दोस्रो तस्बिर संखुवासभाको च्याम्ताङ–घोङगोप्या सडकको छ । जसमा सडकको ट्रयाक भर्खर खोलिएको छ । यसबाट विकास निर्माण तीव्र गतिमा भइरहेको देखाउने प्रयास गरिएको छ ।
केही समयअगाडि सामाजिक सञ्जालमा ‘भाइरल रोड’का रूपमा रहेको भोजपुर सदरमुकामबाट नागबेली आकारको पिखुवा खोला झर्ने सडक पनि किताबमा देख्न सकिन्छ । यो तस्बिर युवराज विष्टले खिचेका छन् ।
यो खण्डमा विराटनगर–इटहरी सडक, कालोपत्र गर्दै गरेको हुलाकी सडक र पूर्व–पश्चिम राजमार्गका तस्बिर छन् । सुविधासम्पन्न बन्दै गएका पूर्वाधारदेखाउने प्रयास त्यसबाट गरिएको छ ।
सिन्धुपाल्चोकको माझी बस्ती र चितवनमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तस्बिर पनि छन् । यी दुई पूर्वाधार निर्माणको पहल निजी संस्था र व्यक्तिबाट सुरु भएको थियो ।
तर, यो तथ्य क्याप्सनमा खुलाइएको छैन । यो सम्बन्धित व्यक्ति र संस्थाका निम्ति अन्याय हो । पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा सरकारले लिए पनि त्यसको सुरुआती पहलकर्तालाई जस दिन लोभ गर्नु हुँदैन ।
किताबमा टिमुरे भन्सारको तस्बिर पनि छ । ज्ञानेन्द्र न्यौपानले खिचेको तस्बिरमा भन्सार हातामा चीनबाट आयात गरिएका सामग्री बोकेका कन्टेनर छन् । भन्सार हाता व्यवस्थित र सुविधासम्पन्न देखिँदैन ।
तर, क्याप्सनमा स्थानबाहेक केही उल्लेख छैन । व्यवस्थित र सुविधासम्पन्न बनाउन नसकिएको भनेर लेख्न हात कमाएको देखिन्छ । यसले सरकारले गरेको कामको तारिफ मात्र गर्ने तर आलोचना वा खबरदारी गर्न नसक्ने सरकारी सञ्चारमाध्यमको यथार्थलाई प्रस्ट्याएको छ ।
नुवाकोटको देवीघाटमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सोलार फार्मको आकर्षक तस्बिर पनि किताबमा छ । रामहरि न्यौपानेले खिचेको यो तस्बिरमावैकल्पिक ऊर्जाको क्षेत्रमा पनि सरकारले काम गरिरहेको देखाइएको छ ।
सुरुङमार्ग, विमानस्थल, सडक, पुलका तस्बिरहरू छन्, जसले सरकार गम्भीरताका साथ पूर्वाधार निर्माणमा सक्रिय रहेको प्रस्ट पार्छ ।
निर्माणाधीन पूर्वाधारको तस्बिर राखिँदा कतिवर्षदेखि ती आयोजना बनिरहेका छन्, तोकिएको समयावधिमा ती आयोजना सकिने सम्भावना छ/छैन, कतिपटक म्याद थप गरेर आयोजना निर्माण भइरहेको छ भन्ने उल्लेख गर्न राससले आवश्यक ठानेको छैन । यसले जानकारी केही अपूरो लाग्छ ।
पूर्वाधारमा सरकारको ठूलो लगानी छ । तर, कतिपय आयोजना बीचमै अलपत्र परेका छन् । दूरदर्शी आयोजना नहुँदा अलपत्र परेका आयोजनाको संख्या ठूलो छ । बीचमै ठेकेदार कम्पनी भोगर काम नसकिएका आयोजना पनि धेरै छन् ।
सही स्थान र आवश्यकताको तालमेल नगरी निर्माण गरिएका प्रयोगविहीन पूर्वाधारको संख्या समेत कम छैन । त्यसलाई नसमेट्दा राससले सरकारका कमजोरी देखाउन नखोजेको वा लुकाउन चाहेको उक्त किताबका तस्बिर हेर्दा प्रस्ट हुन्छ ।
सरकारको कमजोरी र ढिलासुस्तीले एउटै आयोजना वर्षौंसम्म निर्माण सम्पन्न नहुँदा राज्यले अर्बौं रुपैयाँकोनोक्सानी व्यहोर्नु परिरहेको छ । सरकार जवाफदेही नहुँदा जनताले सास्ती भोग्नु परिरहेको छ । त्यस्ता आयोजनालाई नजरअन्दाज गरिनु अर्को कमजोरी हो । जवाफदेहिता नभएको राज्यलाई अझ प्रश्रय दिने कदम हो ।
राज्यको चौथो अंग भनिने प्रेस सरकारको चाकडीमा होइन, खबरदारीमा उत्रिनुपर्छ । प्रेसको यो मूल्य–मान्यता र नैतिकताबाट राससको ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पछि हटेको कसैबाट छिप्दैन ।
सरकारी सञ्चारमाध्यम सरकारको प्रवक्ता मात्र भयो भनेर चौतर्फी आलोचना भइरहेका बेला ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ले यसलाई थप मलजल पुर्याउने काम गरेको छ ।
फोटो संकलनमा राससले मिहिनेत गरेको छ । तस्बिर संकलनमा समावेशिता देखिएको छ । कतिपय जाति र उनीहरूको संस्कृति थाहा नपाउने अर्को भूगोल र समुदायलाई चिन्न र चिनाउन सहयोगीसिद्ध छ, यो संग्रह । यो आफैँमा तारिफयोग्य पक्ष हो । यसमा रासस निःसन्देह धन्यवादको पात्र हो ।
कागज गुणस्तरीय छ । पूर्वदेखि पश्चिमसम्मका समावेशी नेपालको मुहार झल्काउने तस्बिर छन् । यसले सांस्कृतिक र धार्मिक रूपमा सम्पन्न नेपाल देखाउँछ ।
भौतिक विकास निर्माणमा कसरी काम भइरहेको छ भन्ने जिज्ञासा राख्नेका निम्ति यो संकलनले मोटामोटी पूर्वदेखि पश्चिम नेपालसम्मको जानकारी दिन्छ । यसअर्थमा ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ प्रशंसनीय छ ।
अधुरा र कमजोरी औँल्याउने तस्बिर पनि समावेश भइदिएको भए सुनमा सुगन्ध थपिन्थ्यो । आफैँमा यो संग्रह पूर्ण हुन्थ्यो । समावेश तस्बिरको पूर्ण जानकारी क्याप्सनमा भइदिएको भए थप राम्रो हुनेथियो । तर, यसतर्फ ध्यान नपुर्याउँदा वा आवश्यक नठान्दा संग्रह केही फिका लाख्छ ।
‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’मा पूर्वाधारमा नेपालले फड्को मार्दै गरेको यथार्थ देखाउने सकारात्मक प्रयास गरिएको छ । यसमा भने यो संग्रह सफल छ ।