site stats
बाह्रखरी :: Baahrakhari
कला
समय फेरियो, फेरिएनन् राजेश हमाल

काठमाडौं । अक्सर राजेश हमाल सञ्चारमाध्यममा बोल्दैनन् । तर, राजेश यसपटक आफ्नो छविलाई भत्काउँदै बाक्लै अन्तर्वार्ता दिँदै हिँडे । टेलिभिजनका चलेका टक शोदेखि युट्युब च्यानलसम्मलाई अन्तर्वार्ता दिए ।

ती अन्तर्वार्तामा उनले आफूले आठ वर्षपछि सिनेमा खेल्नुको कारण बताए । चलचित्रको स्टोरीमा तीन महिनाभन्दा लामो समय आफैँ बसेर काम गरेको सुनाए । प्लटदेखि क्लाइमेक्ससम्ममा आफ्नै सुपरभिजनमा स्क्रिप्ट तयार भएको सुनाए ।  

आठ वर्षपछि सिनेमा खेल्न उनलाई केले तान्यो, जसका कारण ‘नरसिंहा अवतार’ खेल्नुपर्‍यो भन्ने प्रश्नमा राजेशले भन्ने गरेका थिए– कथामा रहेको रहस्य नै सिनेमाको आकर्षक पक्ष हो । यसैले ‘नरसिंहा : अवतार’ आफूले खेलेको तर्क गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजेशको चलचित्र ‘नरसिंहा : अवतार’ जेठ ९ गते रिलिज भयो । आठ वर्षपछि आफूले काम गरेको चलचित्र हलमा लागेपछि राजेश दर्शकलाई हात हल्लाउँदै हलहलमा पुगे । र, दर्शकलाई सोधे– सिनेमा कस्तो लाग्यो ? आफ्नै अगाडि अभिनेता उपस्थित भएपछि राम्रो त भन्नै पर्‍यो, दर्शकले भने ।

कतिलाई राम्रो लाग्यो पनि होला । कतिलाई चित्त बुझ्दो लागेन होला, स्वाभाविक हो । किनभने किचनअनुसारको स्वाद, व्यक्ति अनुसारको स्वाद भनेजस्तै सिनेमाको टेस्ट पनि व्यक्तिअनुसार फरकफरक हुन्छ । 

यसअघिका सात वर्षमा उनी रजतपटबाट टाढा रहँदा उनले भन्ने गरेका थिए– मैले एकैप्रकारका सिनेमा गरेँ होला । तर, त्यसको पनि कारण थियो । 

के कारण ? उनले भन्ने गरेका थिए– म सिनेमा इन्ड्रस्टीमा आउँदा वर्षको दुई/तीनवटा चलचित्र बन्थे । त्यसैले यो सिनेमा उद्योगलाई चलायमान बनाउन पनि मैले लागातार भ्याए जति चलचित्रमा काम गरेँ, सिनेमा उद्योगलाई गति दिएँ । मैले सिनेमा खेल्दा मसँगै सयौँले रोजगारी पाए । 

घण्टाघरको सुईमा खिया लाग्दै गए पनि समय रोकिएको थिएन । समयक्रमसँगै नयाँनयाँ टेक्नोलोजीको विकास हुँदै थियो । इन्टरनेटको विकास, विस्तार र प्रयोगले फड्को मार्दै थियो । एन्ड्रोइड फोन हातहातमा फैलिँदै थियो । ती एन्ड्रोइड फोनमा विश्वभरका सिनेमा अट्न थालेपछि दर्शकको स्वाद फेरियो । 

बलिउड फर्मुलाका हिरोइजमवाला सिनेमाबाट वाक्क भएका दर्शक अलि पर सात समुद्रपारीका चलचित्र हेर्न थाले । अनि बुझ्न थाले, नायक र खलनायकको द्वन्द्व र हिरो/हिरोइनको रोमान्स तथा खलपात्रको अवरोधमात्रै सिनेमा होइन । सिनेमाले गाउँ/समाजका कथा पनि भन्छ । बलिष्ठ र पुष्ट छाति भएकामात्रै सिनेमाका हिरो/हिरोइन हुँदैनन् । नाकभरि सिँगानको मुठो बोकेर हिँड्ने पात्र पनि चलचित्रको मुख्य कलाकार हुन सक्छ ।

जबजब आमदर्शक सिनेमा के हो भनेर बुझ्न थाले र ती सिनेमा हेर्न अभ्यस्त हुन थाले अनि नेपालमा ‘लुट’, ‘कबड्डी’ र ‘छक्का पञ्जा’जस्ता सिनेमाको दबदबा बढ्यो । अनि, राजेश हमालले रजतपटबाट ब्रेक लिए । 

अनि उनले भने– अब अलि फरक खालका चलचित्रबाट आउन सकिन्छ कि भनेर सोचिरहेको छु । कलाकारका रूपमा वा निर्देशकका रूपमा अथवा प्रोडक्सन कम्पनीका रूपमा पनि आउन सक्ने तर आफूले तीन दशक काम गरेकाभन्दा फरक कथा र वाचनशैलीबाट आउने निरन्तर बताइरहे । बताइरहेनन् मात्रै, यसको तयारी पनि गरिरहेको उनले सुनाए । 

आफैँ सिनेमा बनाएर वा निर्देशन गरेर फरक तरिकाबाट आउने बताएका राजेशको ‘नरसिंहा : अवतार’ त्यस्तै चलचित्र हो, जस्तो चलचित्रबाट उनी लामो ब्रेकपछि फर्किन चाहन्थे ? कि मुड बदलियो ? 

होइन । प्रस्ट सँग भन्न मिल्छ– ‘नरसिंहा : अवतार’ उनले भनेजस्तो फरक खालको चलचित्र होइन । यो त 'लार्जर देन लाइफ' सिनेमा हो, जुन सिनेमामा राजेशले जिन्दगीका आफ्ना ३० वर्ष बिताए, जिन्दगीको स्वर्णिम समय खर्चिए ।  

यसको अर्थ यो नलागोस्, लार्जर देन लाइफ सिनेमा नराम्रा हुन्छन् । यस्ता सिनेमामा त झन् ठूलो क्यानभास हुन्छ, रुमानी कल्पना हुन्छ । निर्देशक, लेखेक र कलाकार मिलेर दर्शकलाई काल्पनिक संसारमा लैजान्छन्, यस्ता सिनेमा हेर्नुको बेग्लै मजा हुन्छ । 

तर, लार्जर देन लाइफ भनेर बनाइएको सबै सिनेमा माथि उल्लेख गरेजस्ता हुँदैनन्, त्यसका लागि पनि अक्कल चाहिन्छ । होइन भने ‘डिजास्टर’ हुन्छ । 

राजेश आठ वर्षपछि आफ्नो बलियो र उचो सामाजिक छवि लिएर हलमा त फर्किए । तर, कस्तो सिनेमा छाने छाने ! राम्रो भनौँ कसरी झुट बोलौँ, नराम्रो भनौँ उनको छनोटमा प्रश्न चिह्न खडा गर्ने भन्ने प्रश्न उठ्ला । प्रश्न उठे पनि उठोस्, सत्य त बोल्नुपर्‍यो– उनको रोजाइ पटक्कै राम्रो भएन ।  

राजेशले यो आठ वर्षको अवधिमा भन्थे– ‘वाग्मती’ र ‘सकुन्तला’ले मलाई निराश बनाए । यी चलचित्र खेल्नु सायद कमजोरी भयो ।

उनले समीक्षा ठिक थियो, विषयवस्तु चयनमा चुकेको आत्मसाथ गर्नु सही थियो । कमजोरी स्वीकार गरेर अगाडि बढ्नु भनेको आगामी यात्रा सहज हुनु हो । उस्तै प्रकारको गल्ती फेरि दोहोरिने सम्भावना न्यून हुनु हो । 

राजेशले कमजाेरी पनि स्वीकार गरे, आत्मसमीक्षा पनि गरे । तर, उनले आठ वर्षपछि पनि ‘सकुन्तला’भन्दा फरक सिनेमा रोजेनन्, कमब्याकका लागि । प्वाल परेको डुंगा चढेर नदी तरिन्छ र ? तरिन्नँ । त्यो बीचमै पल्टिन्छ । अर्थात्, दुर्घटना हुन्छ ।

जहाँ अन्याय र अत्याचार हुन्छ, त्यहाँ राजेश पुग्थे ‘सकुन्तला’मा । भलै त्यहाँ उनी तेस्रोलिंगीको भेषमा थिए । ‘नरसिंहा : अवतार’मा प्रहरी अफिसरको भूमिकामा छन् । यसमा थोरै सस्पेन्स छ । सस्पेन्सलाई छोड्ने हो भने काविल प्रहरी अफिसर तर कमजोर । कमजोर के अर्थमा ? त्यो सिनेमा हेर्नेलाई थाहै छ । यहाँ सिनेमाको कथा नखोलौँ । 

उही प्रहरी अफिसर, समाजमा पर्दा र चाहिँदा अन्यायविरुद्ध फलाम भएर उभिने हिरोइजम सिनेमाको हिरो । यही होइन र उनको ३० वर्षको विगत ?  निःसन्देह, हो ।  

राजेश पछिल्लो समय कलाकारमात्रै होइनन्, अग्लो सामाजिक छवि भएको 'टावर पर्सनालिटी' हो । त्यसैले उनलाई धेरैले इज्जत गर्छन् । कलाकारिता र कलाकारभन्दा नाक खुम्च्याउनेहरू पनि राजेश भनेपछि सेल्फी खिच्न मरिहत्ते गर्छन् । त्यसैले राजेशको कमब्याक साँच्चै गज्जबको होस् भन्ने धेरैको चाहना थियो । उनका समर्थक र सुभेच्छुकको भरोसा थियो । 

तर, उनले त्यस्तो चलचित्र रोज्न सकेनन्, जसको तारिफ उनकै हार्डकोर फ्यानले पनि मुक्तकण्ठले गर्न सकेनन् । 'वाह ! राजेश हमाल' भनेर उनकै प्रशंसकले पनि भन्न सकेनन् । बरु तिनको बोली बन्द भयो, त्यो पनि राजेशकै कारण । 

राजेश हमालले ५० र ६० को दशकमा जस्ता चलचित्रमा काम गरे २०८२ मा आइपुग्दा पनि त्यस्तै कथा र उही कथावाचन रोजे । जसले उनको रोजाइलाई कमजोर बनाइदियो । उनको रोजाइमात्रै होइन, बुझाइमा पनि शंका गर्ने ठाउँ उठाइदिएको छ । 

फर्मुला सिनेमाबाट संसार निकै अगाडि बढिसकेको छ । पाँचवटा गीत, चारवटा फाइट, बलिष्ठ पाखुरा र चौडा छाती भएको आर्य फेसको हिरो र सुन्दरी नायिकाको रोमान्स, खलपात्रको अवरोध र हिरोको विजयमा मात्रै अहिले सिनेमा केन्द्रित हुन छोडिसके । 

सिनेमाले रुमानी कल्पनामात्रै होइन, देश समाजका गम्भीर कथा पनि भन्छ भन्ने अहिलेको यथार्थलाई भुलेर बलिउड फर्मुलामै राजेश पुनः केन्द्रित भए । 

समाजको परिवर्तनसँगै सिनेमाको वाचनशैली फेरिँदा चलचित्रप्रतिको राजेशको बुझाइ के हो ? संसार फेरियो, सिनेमा उद्योगमा रूपान्तरण आयो, दर्शकको सिनेमा हेर्ने रुचि फेरियो । तर, राजेश फेरिएनन् । उनको सिनेमाप्रतिको रोजाइ र बुझाइ फेरिएन । ‘नरसिंहा : अवतार’ले त्यही देखायो । उनी पुरानै धङधङीमा रहेको र त्यसैलाई निरन्तरता दिन चाहेको उनले सन्देश दिए । 

कहिलेकाहीँ विविध कारणले कलाकार विभिन्न टिमसँग जोडिन पुग्छन् । नचाहेर पनि फिल्म खेल्न बाध्य हुन्छन् । तर, त्यसको छनक कलाकारले चलचित्र रिलिजको बेला दिन्छन् । विभिन्न बहाना बनाएर पब्लिसिटीमा हिँड्दैनन् । तर, राजेश जबरजस्ती वा परिबन्धमा परेर नजोडिएको रिलिजको संघार र रिलिजपछाडि उनको हल भिजिटले प्रस्ट पार्छ । 

रिलिजपूर्व उनी अन्तर्वार्ताका लागि अनलाइन, टेलिभिजन र युट्युब च्यानलका अफिस/अफिसमा दौडिए । सिनेमाको विषयवस्तुको तारिफ गरे । स्क्रिप्टको प्रशंसा गरे । रिलिजपछि दर्शकलाई भेट्न हलहलमा पुगे । यसले उनी ‘नरसिंहा : अवतार’मा काम गर्न पाउँदा पूर्ण सन्तुष्ट रहेको पुष्टि गर्‍यो । आफ्नो रुचि नबदल्दा राजेशले आफ्नो कदलाई थप उचाल्ने सुन्दर मौकालाई आफ्नो अगाडिबाट अन्त कतै जाने बाटो खाली गरिदिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्