
काठमाडौं । चेसमा नयाँ प्रयोगको रूपमा नेपालमा पहिलोपटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’को रूपमा चैत १ गते आयोजना गर्न लागेको हो ।
एकेडेमीको वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन् । पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए । यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो ।
परम्परागत चेस जेन जी (नयाँ पुस्ता)का लागि खासै रोचक भएन । सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ । त्यसैले हामीले पहिलोपटक नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूका अनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ । सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ । समूह विजेता चार खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । उनीहरूले नकआउटको आधारमा चैत १ गते होटेल रोयल सिंगीमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीले आफ्नो वार्षिकोत्सव चैत १ गते शुक्रबार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दै छ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो । फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एकदिने ब्लिज कप खेल्नेछन् ।
दुई प्रतियोगिताको कुल पुरस्कार एक लाख २५ हजार रुपैयाँ रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने दुई खेलाडीले जनही ६ हजार ४ सय रुपैयाँ पाउनेछन् ।
१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले सात हजार पाँचसय, तेस्रोले ६ हजार र चौथो हुनेले चार हजार प्राप्त गर्नेछन् । ब्लिज कपमा शीर्ष १०, महिलासँगै गर्ल्स र ब्वइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
एकेडेमीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप र हिमालयन डुओ गरी पाँच प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।
बौद्धिक खेलको रूपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँचवटा कोर्समा सयभन्दा बढीलाई काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित आफ्नै हलमा नियमित चेस ट्रेनिङ दिइरहेको छ । उसले गत पुसदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।