
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेयता अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ३६ पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सिता परियाले पछिल्लो समय अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या बढेको जानकारी दिइन् ।
“२०८१ माघ ७ गते यता अमेरिकाबाट ३६ जना नेपाली डिपोर्ट भएर आएका छन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सिता परियाले बाह्रखरीसँग भनिन्, “पहिलो पनि अमेरिकाबाट नेपाली डिपोर्ट भएर आउँथे । तर, पछिल्ला दिन डिपोर्ट भएर आउनेको संख्या केही बढी छ ।”
ट्रम्पले ०८१ माघ ७ गते राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । राष्ट्रपतिको शपथ लिएलगत्तै उनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आप्रवासी नीतिमा कडाइ गरेका थिए । ट्रम्पले अवैध अमेरिका प्रवेश गरेकालाई डिपोर्ट गर्ने घोषणा चुनावी अभियानकै क्रममा गरेका थिए ।
राष्ट्रपतिको शपथपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एकहजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैधरूपमा अमेरिकामा बसेको आरोप लगाइएको थियो ।
सोही अनुसार, राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्प प्रशासनले अमेरिकामा अवैधरूपमा नेपालीसहित विदेशीलाई डिपोर्ट गर्न थालेको हो ।
यही फागुन २१ गते मात्र अमेरिकाले एउटा जहाजमा आठजना र अर्को जहाजमा एकजना गरी नौजना नेपालीलाई डिपोर्ट गरेर काठमाडौं पठाएको थियो ।
माघ ७ गते यता डिपोर्ट गरिएका अन्य नेपालीबारे पूर्वजानकारी नदिए पनि फागुन २१ गते डिपोर्ट गरिएका आठजना नेपालीबारे ट्रम्प प्रशासनले नेपाललाई जानकारी दिएको थियो ।
“डिपोर्ट भएका नेपाल आइपुग्ने दिन अमेरिकाले एउटा इमेल पठाएको थियो, जसमा डिपोर्ट सम्बन्धमा जानकारी दिइएको थियो । नेपालबाट अवैध तरिकाले अमेरिकामा प्रवेश गरेकाले उनीहरूलाई नेपाल फिर्ता गरिएको बेहोरा इमेलमा उल्लेख थियो,” सूचना अधिकारी परियारले भनिन् ।
अवैध तरिकाबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिना भिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि लगाइएको छ ।
डिपोर्ट भएर आएकाहरूलाई विमानस्थलमै प्रहरीलाई बुझाउने गरिएको छ । खासगरी मानव तस्करको प्रलोभनमा परी अवैध बाटोबाट अमेरिका गएका कारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गर्छ ।
सन् २०२४ मा विभिन्न देशले एकहजार २२८ जना नेपालीलाई डिपोर्ट गरेका थिए । उक्त वर्ष अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । अमेरिकाले अघिल्लो एक वर्षमा जति संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो, त्योभन्दा बढी सन् २०२५ को पछिल्लो डेढ महिनामा गरेको छ ।