
पोखरा । पर्वतको महाशिला गाउँपालिकामा गण्डकी प्रदेशस्तरिय स्काउट बेसिक ट्रेनिङ कोर्षको तालिम समापन भएको छ ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश स्काउट कार्यालय पोखराको व्यवस्थापन र स्थानिय स्काउटको कार्यालय महाशिलाको समन्वयमा फागुन १५ देखि सुरू भएको पाँचदिने आवासीय बीटीसी तालिमको मंगलबार समापन भएको हो ।
तालिममा पर्वत, बाग्लुङ, म्याग्दी र कास्कीका विभिन्न विद्यालयहरूमा अध्यापनरत ३२ जना शिक्षकको सहभागिता रहेको स्थानीय स्काउट आयुक्त भवराज शर्माले बताए । यसका अतिरिक्त महाशिला गाउँपालिकाभित्र स्काउट कार्यक्रम सञ्चालन रहेका तीवटै विद्यालयका स्काउट विद्यार्थीहरू समेतलाई प्रशिक्षण दिइएको छ ।
स्काउट तालिम राजमार्गको पहुँच भएको स्थानमा मात्र हुँदै आएकोमा गण्डकी प्रदेशमै पहिलोपटक सदरमुकाम तथा राजमार्गको पहुँचबाट टाढाको महाशिला गाउँपालिकामा यो तालिम आयोजना भएको हो ।
गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयमध्ये हालसम्म तीनवटा माध्यमिक विद्यालयमा स्काउट कार्यक्रम सुरू भएको र आगामी शैक्षिक वर्षहरूमा बाँकी विद्यालयमा समेत स्काउट विस्तारका लागि आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।
सोही अवसरमा गाउँपालिकाका शिक्षा शाखाका नारायण गौतम र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयलाई मानार्थ स्काउटको रूपमा दीक्षित गरिएको थियो ।