
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र चुनौतीको समाधान खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रहेर आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।
डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नवीनतम धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ ।
पहिलो चरणको लागि प्रतियोगिहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्नेछ । दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड, २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स, २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फ सेवा दिँदै आएको छ ।