
काठमाडौं । युक्रेनमाथि आक्रमणपछि तीन वर्षसम्म अमेरिका र उसका सहयोगीहरूले रुसलाई बहिष्कार गरे । उनीहरूले रुसमाथि अन्तर्राष्ट्रिय कानुन उल्लंघनगरेको आरोप लगाए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फरक अडान लिएपछि अब अवस्था फेरिएको छ । ट्रम्पले रुससँग अमेरिकी सम्बन्ध फरक ल्याउन खोज्दैछन् । रुसलाई ‘आक्रमणकारी भन्न’ र युक्रेनलाई ‘युद्ध पीडित’ घोषणा गर्न उनले अस्वीकार गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार वासिङ्टनमा भेटवार्ता भएको थियो । भेटमा युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे खुला बहस भएको थियो ।
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको चर्को वादविवादपछि केही मानिसहरूलाई लाग्न थालेको छ ‘उदारवादी विश्व व्यवस्था’ (लिवरल वल्र्ड अर्डर) अब समाप्त हुन लागेको छ । यो दाबीमा कति सत्यता छ ?
उदारवादी नेतृत्वको यात्रा
‘उदारवादी विश्व व्यवस्था’ प्रतिबद्धता, सिद्धान्त र मान्यताहरूमा निर्मित अन्तर्राष्ट्रिय सम्बन्धको प्रणाली हो । यसको मूलमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद् जस्ता संस्थाहरू छन् ।
‘उदार विश्व व्यवस्था’ ले स्वतन्त्र व्यापार जस्ता मूल्यहरू पनि प्रतिनिधित्व गर्छ, जसलाई विश्व व्यापार संगठन (डब्लुटीओ), अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता संस्थाहरूले समर्थन गर्छन् ।
पश्चिमी उदार लोकतन्त्रले सरकारको उत्तम मोडेलको प्रतिनिधित्व गर्छ भन्ने वैचारिक मान्यता छ । अन्तर्राष्ट्रिय कानुनको उल्लंघनलाई आधिकारिक रूपमा संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव वा अन्तर्राष्ट्रिय न्यायालयको निर्णयमार्फत उठाउन सकिन्छ ।
यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आर्थिक प्रतिबन्ध लगाउन सक्छ वा चरम अवस्थामा सैन्य कारबाहीलाई पनि स्वीकृत प्रदान गर्नसक्छ ।
यद्यपि, अभ्यासमा भने केही फरक देखिन्छ । प्रतिबन्ध र सैन्य हस्तक्षेपहरू प्रायः संयुक्त राष्ट्रसंघको स्वीकृतिविना नै लागु गरिएका छन् । जसको रुसले लामो समयदेखि आलोचना गर्दै आएको छ ।
सन् २००७ को म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका थिए, “शक्तिको प्रयोगलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेमा मात्र वैध मान्न सकिन्छ । हामीले नेटो वा युरोपेली संघलाई संयुक्त राष्ट्रसंघ जत्तिकै महत्व दिन आवश्यक छैन ।”
युक्रेनमा आक्रमण गरेर रूसले धेरै देशहरूको नजरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनमात्र गरेको छैन, विश्वव्यापी मामिला सञ्चालन गर्ने तरिकालाई पनि चुनौती दिएको छ ।
सन् २०१४ देखि पुटिन आफैँले संयुक्त राष्ट्रसंघको स्वीकृतिविना सैन्य बल प्रयोग गर्दै आएका छन् । पश्चिमा दृष्टिकोणबाट युक्रेनविरुद्ध रूसको आक्रमण शीतयुद्धपछि नियम–आधारित व्यवस्थाको सबैभन्दा ठूलो उल्लंघनहो ।
“हामीले प्रणालीका तीन मुख्य सिद्धान्तहरू उल्लंघनदेखेका छौं,” प्रिन्सटन विश्वविद्यालयमा राजनीति र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक जी. जोन इकेनबेरीले फाइनान्सियल टाइम्ससँग भने ।
उनी भन्छन्, “पहिलो सिद्धान्त भनेको तपाईंले क्षेत्रीय सीमाहरू परिवर्तन गर्न बल प्रयोग गर्न सक्नुहुन्न । दोस्रो, तपाईं युद्धमा नागरिकहरूविरुद्ध हिंसा गर्न सक्नुहुन्न । र तेस्रो, तपाईं आणविक हतियार प्रयोग गर्ने धम्की दिन सक्नुहुन्न । पुटिनले पहिलो दुई काम गरेका छन् र तेस्रोलाई धम्की दिएका छन् । त्यसैले यो नियममा आधारित व्यवस्थाका लागि वास्तविक संकट हो ।”
जवाफमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमा दृष्टिकोणले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका संस्थाहरूको कुनै सम्मान नगरेको तर्क गरेका छन् ।
रुसले प्रायः १९९९ मा नेटोले युगोस्लाभियामा गरेको बमबारी, २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको आक्रमण र २००८ मा कोसोभोका स्वतन्त्रता मान्यता दिएको घटनालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्वीकृतिविना गरिएका पश्चिमी कारबाहीको उदाहरणको रूपमा प्रस्तुत गर्दै आएको छ ।
रुसको तर्क छ कि यस्ता कार्यहरूले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तहरूको उल्लंघनगर्छ । उदारवादी विश्व व्यवस्थाको सबैभन्दा महत्वपूर्ण परीक्षणहरूमध्ये एक इजरायल–हमासप्रति अमेरिकाको फरक अडान थियो ।
इजरायललाई सैन्य सहयोग प्रदान गरेकामा धेरै देशहरूले बाइडेन प्रशासनको कडा आलोचना गरेका थिए । अमेरिकामाथि हजारौं प्यालेस्टिनीहरूको मृत्युप्रति उदासीन बनेको आरोप लागेको थियो ।
वासिङ्गटन पोस्टसँगको एक अन्तर्वार्तामा टर्की संसदका सभामुख नुमान कुर्तुलमसले भनेका थिए, “यो एकदमै स्पष्ट रूपमा पाखण्ड हो, दोहोरो मापदण्ड हो । यो एक प्रकारको जातिवाद हो, किनकि यदि तपाईं प्यालेस्टिनी पीडितहरूलाई युक्रेनी पीडितहरू बराबर मान्नुहुन्न भने यसको अर्थ तपाईं मानवताभित्र एक प्रकारको वर्गीकरण ल्याउन चाहनुहुन्छ । यो अस्वीकार्य छ ।”
‘उदारवादी विश्व व्यवस्था’ अमेरिका, अमेरिकी डलर, अमेरिकी अर्थतन्त्रसँग धेरै बाँधिएको विश्वास इकेनबेरीको छ । यो संयुक्त राष्ट्र सुरक्षा परिषद्भन्दा बढी नेटो र गठबन्धनहरूसँग जोडिएको उनको धारणा छ । “यसलाई अमेरिकाको ‘उदारवादी आधिपत्य’ को रूपमा पनि बुझ्न सकिन्छ,” इकेनबेरीले भने ।
ट्रम्पको कूटनीतिबारे अमेरिकी जनता के सोच्छन् ?
विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामाथि चुनौती दिन खोज्ने देशहरू परम्परागत रूपमा ‘संशोधनवादी शक्तिहरू’ भनी चिनिन्छन् । अमेरिकी विश्लेषक र नीति निर्माताहरूले यो शब्द चीन र रुससँग जोड्छन् । उनीहरूको विश्वास छ कि यी दुवै देशहरू अमेरिकाको विश्वव्यापी प्रभाव कम गर्न चाहन्छन् ।
प्रोफेसर इकेनबेरी भन्छन्, “हालैका महिनामा अमेरिका विश्वको सबैभन्दा ठूलो संशोधनवादी शक्ति बनेको छ । ट्रम्प प्रशासनले व्यापार, मानवअधिकार संरक्षण र गठबन्धनदेखि लोकतान्त्रिक ऐक्यवद्धतासम्मका उदारवादी विश्व व्यवस्थाका लगभग हरेक पक्षलाई नष्ट गर्ने काम गरिरहेको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले हालै भनेका थिए, “मेरो प्रशासनले अघिल्लो प्रशासनको विदेश नीतिको असफलता र विगतका असफलताहरू निर्णायक रूपमा तोडिरहेको छ ।”
ट्रम्प टीमको यी आमूल परिवर्तनहरू रोक्न कंग्रेस र न्यायपालिकालाई गाह्रो हुनेछ । विदेश नीति पूर्ण रूपमा राष्ट्रपतिको क्षेत्राधिकारमा पर्छ । अमेरिकी हितअनुरूप यसलाई व्याख्या गरेर ट्रम्प प्रशासनले रूससँग मेलमिलापको दिशामा चालिएको कदमलाई जायज ठहराएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी विश्वास गर्छौं कि चलिरहेको युद्ध रूसका लागि नराम्रो छ, युक्रेनका लागि नराम्रो छ, युरोपका लागि पनि नराम्रो छ । तर सबैभन्दा महत्वपूर्ण कुरा यो अमेरिकाका लागि पनि नराम्रो छ ।”
यद्यपि, ट्रम्पको कूटनीतिक क्रान्ति अमेरिकीहरू मन परेको छैन । हालै गरिएको एक सर्वेक्षणले अमेरिकीहरू उनको आप्रवासन नीतिहरूको सबैभन्दा बढी समर्थन गर्ने देखाएको छ । साथै, रूस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ट्रम्पको अडानलाई सबैभन्दा कम समर्थन प्राप्त भएको छ ।
यसैबीच दुई तिहाइभन्दा बढी अमेरिकीहरू युक्रेनलाई आफ्नो सहयोगी मान्छन् । यीमध्ये आधा मानिसहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पक्षमा छन् ।
ट्रम्पको कूटनीतिक उथलपुथल
अक्सफोर्ड विश्वविद्यालयमा रूस र युरेसियन मामिलाकी अनुसन्धानकर्ता डा. जूली न्यूटन भन्छिन्, “फेब्रुअरी २०२५ सम्म, यो अमेरिका नै हो, जसले नियममा आधारित व्यवस्था खत्तम पार्ने धम्की दिइरहेको छ ।”
प्रमाणका रूपमा उनी युक्रेनको प्राकृतिक स्रोत–साधनमाथि नियन्त्रण गर्ने ट्रम्पको माग, रूससँगको सम्बन्ध सामान्यीकरण गर्ने ट्रम्पको कुरा, जेलेन्स्कीमाथि ट्रम्पको सार्वजनिक आक्रमण र युरोपमा अति–दक्षिणपन्थी दलहरूलाई ट्रम्पका सहयोगीहरूको समर्थनका विषय प्रस्तुत गर्छिन् ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रामण गरेको तेस्रो वर्ष पूरा भएको थियो । उक्त दिन अमेरिकाले युक्रेनमाथि रूसी आक्रमण र युक्रेनी भूभागमा रुसी कब्जाको निन्दा गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको विरुद्धमा मतदान गर्यो ।
अमेरिकी कूटनीतिज्ञहरूले ‘रूस–युक्रेन युद्धको क्रममा भएको दुःखद जीवनको क्षति’ प्रति समवेदना व्यक्त गर्दै एक सामान्य वक्तव्य मात्र निकाले । यसैबीच, ट्रम्पले वासिङ्गटन र मस्कोबीचको आर्थिक सम्बन्ध पुनस्र्थापित गर्न पुटिनसँग वार्ता गरिरहेको घोषणा गरे ।
डा. जूली न्यूटन भन्छिन्, “ट्रम्पको कूटनीतिक क्रान्तिले हेलसिन्की चार्टरका सिद्धान्तहरूलाई कमजोर बनाइरहेको छ । अमेरिकालाई आफ्नै सहयोगीहरूको नजरमा प्रतिद्वन्द्वीमा परिणत गरिरहेको छ ।”
अमेरिका, सोभियत संघ र युरोपेली देशहरूबीच हेलसिन्की सम्झौतामा हस्ताक्षर भएको थियो । यसको उद्देश्य क्षेत्रीय अखण्डता, सीमा हिंसा रोकथाम र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तहरूलाई बलियो बनाउनु थियो ।
जोन्स हप्किन्स विश्वविद्यालयका रूस विज्ञ सर्गेई राडचेन्को भन्छन्, “ट्रम्प, पुटिनले जसरी नै सोच्छन् । १९औं शताब्दीका साम्राज्यवादी शासक जस्तै ।”
राडचेन्को अगाडि थप्छन्, “रूसमाथि दबाब दिन युरोपसँग पर्याप्त आर्थिक शक्ति र वित्तीय हतियार छन् । ट्रम्पले पुटिनसँगको वार्तालाई कति अगाडि लैजान सक्छन् भन्ने कुराले फरक पार्दैन । युरोपेली देशहरूले समानान्तर रूपमा रूससँग सम्बन्ध सामान्यीकरण गरिरहेका छन् भन्ने कल्पना गर्न गाह्रो छ ।”
एट्लान्टिक काउन्सिलको युरेसिया सेन्टरका शेल्बी म्यागिडका अनुसार, ‘उदारवादी विश्व व्यवस्था’ को अन्त्य घोषणा गर्नु धेरै हतार हुनेछ । रुसमाथि अमेरिकी प्रतिबन्धहरू अझै पनि कायम छन् र ट्रम्प प्रशासनले रुसले युक्रेनमा युद्ध समाप्त गरेमा मात्र ती प्रतिबन्धहरू हटाइने बताएको छ ।
“म यो कुरामा सहमत छु कि अझ बढी खतरनाक सामान्यीकरणको जोखिम छ, तर हामी अझै पूर्ण रूपमा त्यहाँ पुगेका छैनौं । विश्व व्यवस्थाको अन्तिम परिणाम र दिगो प्रभाव युद्ध कसरी समाप्त हुन्छ र शान्ति कसरी लागु गरिन्छ भन्नेमा बढी निर्भर हुनेछ,” म्यागिडले भनिन् ।
(बीबीसीबाट भावानुवाद)